सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी भट्ट हत्या प्रकरण : भीरकट्याको बाटोमा अड्कियो अनुसन्धान !

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन्। उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्।

‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। त्यतिबेला दुई जना थिए। दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ भीरकट्याबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ।

World Link Ads
Mahakali Polytechnic

० भीरकट्याको भीरमा ‘दुई जनाले खाएका थिए चाउचाउ’
० तर, त्यहाँबाट घटनास्थलसम्मको सम्पर्क जुटाउन धौधौ
० त्यो दिन दिउँसो २ः४७ मा भागरथीको मोबाइल स्विच अफ
० प्रहरीको कुकुर घटनास्थलबाट भीरकट्यातर्फ पछ्याएर अलमलमा
त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ। उनको शवनजिकै झन्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरकट्याको भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ।

‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा प¥यो। तर, अभियुक्त भीरकट्यातिर लागेको अनुमान भने गर्न सकिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले अभियुक्तको बास्ना कुकुरले पत्ता लगाउन सकेन।’

घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ। तर, प्रहरीले घटनाको कुनै तथ्य बाहिर ल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ।

टेक्निकल टिमले भागरथीको मोबाइलका दुई सिम बरामद गरेको छ। तीमध्ये उसका बुवाले प्रयोग गर्ने नेपाली नम्बरको सीमबाट त्यो दिनभर कल भएको छैन। अर्को सीम भारतीय मोबाइल कम्पनीको छ। ‘भारतीय मोबाइलमा केही कल देखिन्छन्। तर, नेपाली सिममा गरिएको कलका आधारमा प्रहरीले खासै सुराक फेला पार्न सकेको छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

घटनास्थलमै हत्या : प्रहरी
भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएका छन्। घटनास्थलमा रगत बगिरहेको भेटेको छ। भागरथीको सर्टको बटन र दुईवटा हेयर ब्यान्ड रबर पनि भेटिएका छन्। उनको च्यातिएको अवस्थाको ज्याकेट पनि घटनास्थलमा भेटिएको छ। ‘यी कुराले घटनास्थलमा हत्या भएको पुष्टि हुन्छ’, एक प्रहरी अधिकृतले भने।

Sana Kishan

भीरकट्याबाट घटनास्थलसम्म जाँदा दुईवटा बस्ती छन्। प्रहरी भन्छ, ‘त्यो बस्तीका मानिसले उनलाई घटनास्थल गएको देखेका छैनन्। हामीले एक÷एक गरेर सबैलाई सोधिसक्यौं तर कोही देखिन भन्छन्।’ भागरथीको झोला शरीरमा भिरेकै अवस्थामा थियो।

‘सिल्ल भन्ने बस्तीबाट छिरेको भए कसै न कसैले देख्थे। तर, कतै गाउँभन्दा फरक बाटोबाट लगियो कि भनेर पनि अनुसन्धान भइरहेको छ। प्रहरीको कुकुरले पनि प्रायः हिँड्ने गरिएको सडक मुनितिरको वनलाई पछ्याएको थियो’, एक प्रहरी अधिकृतले भने।

भागरथीका काका शिवराज भट्टले त्यो दिन चडेपानीको भूमिराज माविमा निर्माण सामग्री पु¥याउन चारवटा ट्र्याक्टरले दिनभरि ओहोरदोहोर गरेको बताए। ‘ट्र्याक्टरहरू चलिरहेका थिए। मानिसको ओहोर दोहोर थियो। सडकको ३० मिटरमा बलात्कार हुनै सक्दैन’, भट्टले भने, ‘दिनभर बलात्कार गरी राति त्यो ठाउँमा ल्याएर मारिएको हुन सक्छ।’

२ सय जनासँग सोधपुछ
प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको छ। स्थानीयवासी प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गर्छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

‘हामीसँग वडाभरिको हरेक घरको तथ्यांक छ’, डीआईजी सुवेदीले भने, ‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा को–को संलग्न थिए ? को–को फरार थिए ? गाउँभरिमा त्यो दिन चलेका ट्र्याक्टर, मोटरसाइकलसहितका सबैलाई सोधपुछ र अनुसन्धानको दायरामा ल्याइसकेका छौं।’

डीआईजी सुवेदीले शंकास्पदलाई प्रहरीले नजरमा राखेको बताए। ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैँ छन्’, उनले भने, ‘चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन। अनुसन्धानको दायरामा आएका सबै पक्राउसरह नै हुन्।’

गाउँले मौन
भागरथीको हत्यापछि गाउँ छिरेका प्रहरीलाई चडेपानीका स्थानीयले खासै सूचना दिन मानेका छैनन्। ‘स्थानीयले आन्दोलन नगरिदिएर हामीलाई धेरै सहयोग भइरहेको छ। तर, उनीहरू घटनाबारे खासै बोल्न मान्दैनन्’, खोचलेक प्रहरी चौकीमा रहेका डीआईजी सुवेदीले भने।

उनले जनताका तर्फबाट पाउने सूचना नै अनुसन्धानका लागि मुख्य स्रोत भएको बताए। ‘सुरुका बेला त कोही बोल्नै मानेनन्, केही थाहा छ भने थाहा छैन भनेर पन्छिए’, उनले भने, ‘तर अहिले अलि–अलि सूचना आउन थालेको छ।’

भागरथीको शव १० दिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. वसन्त जोशीले काठको बाकस बनाएर अहिले अस्पतालभरिका डिफ्रिजमा बरफ जमाएर जेनतेन शव राखिएको बताए। ‘जेनतेन डिस्कम्पोज हुनबाट जोगाइएको छ। तर, यसभन्दा बढी दिनसम्म राख्दा शव कुहिन थाल्छ’, डा. जोशीले भने।

आफन्तले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने भनेपछि तनाव थपिएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भागरथीको हत्या अनुसन्धानका लागि चाहिने सबै कुरा संकलन भएर विधि विज्ञान प्रयोगशालामा पठाइसकिएको बताए। ‘यो कुराले परिवारलाई बढी पीडा दिन्छ। परिवारका मान्छेलाई हरेक दिन शवको पीडा थपिरहन्छ’, उनले भने, ‘अनुसन्धान तीव्र गतिमा भइरहेकाले शव बुझ्न आग्रह गरेको छु।’ उनले शव अस्पतालमा राखेर मात्रै होइन, हत्यारा पत्ता लगाउन प्रहरी र प्रशासन आफैँ दबाबमा रहेकाले अनुसन्धानको कुनै कसर बाँकी नराख्ने बताए।

(शिवराज भट्टले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.