नेपाल टेलिकमका सहायक अधिकृत एक महिलामाथि दुरव्यवहार गरेको आरोपमा आइतबार राती विराटनगरबाट पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–५ घर भएका ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् । आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले ति महिलामाथि आइतबार दिउँसो अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार महिलाले साँझ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी दिएपछि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
कटुवालले यसअघि पनि महिलामाथि विभिन्न गालीगलौज र दुरव्यवहार गर्ने गरेको पाइएको एसपी खड्काको भनाइ छ । बारम्बार घटना दोहोरिन थालेपछि महिलाले प्रहरीमा उनीविरुद्ध उजुरी दिएकी हुन् ।
पछिल्लो पटक सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज गर्दै दुरव्यवहार गरेको स्थानीय बासिन्दाले पनि देखेको प्रहरीले जनाएको छ । एसपी खड्काले पक्राउ परेका कटुवालविरुद्ध कारबाही अघि बढाउन थप कुरा बुझ्ने काम भइरहेको बताए ।
(annapurnapost.com बाट साभार)