बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरीको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । दोगडाकेदारको खोचलेक बजारमा स्थानीय र सनातन धर्म माविका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
किशोरीको बलात्कार पछि हत्या गरिएकाले दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका नेता भुवन कार्कीले जानकारी दिनुभयो । उनीहरुले खोचलेक बजारमा प्रदर्शन गर्दै भागरथीको हत्या गरिएकाले हत्यामा संलग्न जो सुकै भएपनि कारवाहीको दायरमा ल्याउन माग गरेका छन् ।
मृतक भागरथीका तस्बिर अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । भागरथीलाई न्याय दे, हत्यारालाई फासी दे लगायतका नाराहरु लगाएर विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।
बुधबार विद्यालय गएकी भागरथी बिहीबार साँझ मृत अवस्थामा फेला पर्नुभएको थियो । भागरथीको बलात्कार पछि हत्या गरिएको परिवारजनले आशंका गरेका छन् । प्रहरीले यो घटनाका बिषयमा अनुसन्धान भईरहेको जनाएको छ ।
(ninglashainionline.com बाट साभार)