काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागीलाई बधाई तथा आभार व्यक्त गरेका छन्। प्रदर्शनले ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदमविरुद्ध जनभावना अभिव्यक्त भएको उनको दाबी छ।
देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ।’
उनले प्रदर्शन सहभागी हुने र प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने भ्रातृ संस्था र पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यका साथै सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन्।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले सोमबार पनि देशभर प्रदर्शन गरेको थियो। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरेको हो।
पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ।
(annapurnapost.com बाट साभार)