महेन्द्रनगर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता–२०७७ को सोमवार सेमिफाइनलका खेल हुने छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाकाबिच सोमवार दिउँसो १२ बजे हुने छ ।
दोस्रो सेमिफाइनल खेल एमसिडिसी बेदकोट नगरपालिका–५ र पिएफए अत्तरियाका बिचमा दिउँसो साढे एक बजे बजे हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन् ।
उनका अनुसार सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता फाइनल प्रवेश गर्ने छन् ।
खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा माघ १२ गते प्रतियोगिता सुरु भएको थियो ।
खुल्लामञ्चमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरी क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप–२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए ।
प्रतियोगितामा कैलाली÷कञ्चनपुरका गरी १६ टिमको सहभागिता रहेको थियो । सहभागी टीमलाई चार समूहमा विभाजन गरी नकआउट पद्धतिबाट प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिता फाइनल खेल माघ २१ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने छ ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।