बिद्युत प्राधिकरणका ४ कर्मचारी घुससहित पक्राउ !
धनुषामा नेपाल विद्युत प्राधिकरणका ४ जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ।
शुक्रबार धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केवर फ्युज शाखामा कार्यरत रहेका ४ जना कर्मचारीलाई ५ हजार रुपैयाँ घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुपरभाइजर जगत नारायण साह , नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको जनाइएको छ । बर्दिबास स्थित अख्तियारबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका कर्मचारीले विश्रामपुरमा रहेको एक कुखुरा फर्ममा विद्युत जडान गरी दिएको वापत भन्दै सेवाग्राहीसँग गैरकानूनी रुपमा ५ हजार रुपैयाँ घुस रकम लिएको भनी गोप्य सूचनाको आधारमा रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।
(ratopati.com बाट साभार)