सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन्तला बेचेरै १ करोड ५० लाख आम्दानी !

देउपुरका सुन्तला किन्न काठमाडौं, पोखरा, नारायणगढदेखिका व्यापारी घरघर आएका थिए। किसानले दुई वर्ष अघिसम्म सहकारी मार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यक्तिगत तवरबाट व्यापारीलाई बगैंचा नै जिम्मा लगाएका थिए।

स्थानीय माछापुच्छ्रे सुन्तला सहकारी संस्था मार्फत बिक्री गरे पनि निजी तवरबाट बेच्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईंले बताए। तर, उनका अनुसार यस वर्ष उत्पादन घटेकाले गत वर्षको जस्तो राम्रो कमाइ भएन। ’पोहोर ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला बेचेका थियौं। यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ,’ उनले भने ।

सुन्तला टिप्नका लागि सात दिन अघिसम्म व्यापारी र कामदार देउपुरका बगैंचा भरिएका थिए। ’सुन्तला टिप्ने, प्याक गर्ने र ढुवानी गर्नेको भीडभाडले गाउँमा मेला लागे जस्तै देखिएको थियो,’ स्थानीय शिक्षक भूमिराज शर्माले, ’थोक व्यापारीले बगैंचाबाटै सुन्तला किनेकाले किसानलाई पनि सजिलो भयो।’

World Link Ads
Mahakali Polytechnic

यस वर्ष सुन्तला उत्पादन घटेकाले पोहोरभन्दा आम्दानी समेत करिब आधा नै घटेको छ। देउपुरका किसान ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष थोरै फल्ने भएकाले गत वर्षजस्तो धेरै उत्पादन नभएको बताए। उनले गत वर्ष ४ लाख रुपैयाँमा सुन्तलाको बगैंचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधाजति घटेको जानकारी दिए।

Dirghayu Ads

गत वर्ष हिउँदमा पटकपटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष बर्खामा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयको अनुमान छ।

Sana Kishan

डेढ दशकदेखि देउपुरका किसानले आफ्नो आम्दानीको मुख्य स्रोत नै सुन्तलाखेती बनेको छ। कोदो र मकै लगाउने गरेका यहाँका किसानले सुन्तला खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर फेरिएको छ। यहाँका १ सय ६० भन्दा बढी किसान परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन्।

साविक देउपुर गाविसमा सुन्तला उत्पादनको सम्भावना राम्रो भएकाले १५ वर्षदेखि व्यावसायिक सुन्तलाखेती सुरु गरेको माछापुच्छ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईंले बताए। उनले सुन्तलाखेती विस्तार गर्न अझै प्रयास गर्नुपर्ने सुझाए।

सुरुमा कोदो, मकै मात्र लगाउने ठाउँमा सुन्तला लगाएपछि हरेकजसो परिवारको २–५ लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ। ‘मकै, कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा ५ लाखसम्म कमाइ हुन्छ,’ उनले भने, ’अहिले देउपुरका सबै घरमा २ लाख रुपैयाँभन्दा बढी कमाउने किसान छन्।’

सुरुमा केहीले परीक्षणका लागि सुन्तलाका विरुवा रोपेको र धेरै फलेपछि गाउँभरि नै रोपिएको देउपुरवासीको भनाइ छ। अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ।

यस वर्ष सुन्तलाका बोट मर्न थालेका शिक्षक शर्माले बताए। ठूला र साना सबै बोट धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए। उनका अनुसार विभिन्न औषधि प्रयोग गरे पनि रुख सुक्दै गएका छन्। उनले जलवायु परिवर्तनको असर सुन्तलामा पनि परेको हुन सक्ने अनुमान गरिएको बताए।

 

 

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.