धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र ) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तिर्थस्थल हो । तर, यसको उचित प्रचार प्रसार र विकास भने हुन सकेको छैन । जसका कारण यो क्षेत्र आझेलमा पर्दै आएको छ ।
तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको संगमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो । यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृष्य अवलोकन गर्न पाईने हुँदा यहाँ पुग्न जो कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ ।
कोरोना संक्रमणका कारण सात महिना ठप्प बनेको त्रिवेणीधाम तिहारपछि खुला गरिएको थियो । तिहारपछि यहाँ भक्तालु तथा पर्यटकको आगमनमा बृद्धि भएको छ । अहिले यहाँ दैनिक रुपमा पाँच सय हाराहारी पर्यटक आउने गरेका छन् । शनिबार र आईतबार पर्यटक बढि आउने गर्दछन् ।
माघे औंशी, साउन महिनाको सोमबार, नयाँ वर्ष जस्ता विशेष पर्व र विशेष दिनमा यहाँ २० हजार रुपियाँसम्म भक्तजन तथा पर्यटकको आगमन हुने गरेको गजेन्द्रमोक्ष दिव्यधामका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो । कोभिड अघि त्रिवेणीमा ६० प्रतिशत भारतबाट र ४० प्रतिशत नेपालबाट आउने गरेका थिए । तर, कोभिडपछि नेपाली पर्यटकको आगमनमा पनि बृद्धि भएको प्रपन्नाचार्य बताउनुहुन्छ ।
पछिल्लो समय यहाँ पर्यटकको मुख्य आकर्षण बनेको छ शीशमहल । शीशमहलले त्रिवेणीको नामै परिवर्तन गरेको प्रपन्नाचार्य बताउनुहुन्छ । अहिले शीशमशल भएको ठाउँ भनेर त्रिवेणी चिनिन थालेको उहाँ बताउनुहुन्छ । शीशमहलको भित्री भागमा सिसै सिसाको पर्खाल बनाइएको छ ।
यहाँ भित्र प्रवेश गर्दा एकै व्यक्तिका धेरै आकृतिहरु देखिन्छन् । महलभित्र आकर्षक राधाकृष्ण भगवानको मूर्ति समेत राखिएको छ । शीशमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ । धामको खर्च व्यवस्थापनका लागि शीशमहल मुख्य श्रोत बनेको छ ।
यस्तै, यहाँको अर्को आकर्षण नारायणी नदीमा डुङ्गा सयर बनेको छ । नारायणी नदीको मनोरम दृष्य अवलोकन गर्दै डुङ्गामा सयर गरी पर्यटकले रमाईलो गर्ने गर्छन् । भने, यहाँका मानिसको आयश्रोतको माध्यम समेत बनेको छ ।
धाम क्षेत्रमा निर्माण गरिएका विभिन्न मठ मन्दिरले यहाँको सुन्दरतालाई बढाएको छ ।
गजेन्द्रमोक्ष दिव्धाममा आएका पर्यटकलाई वैदिककालिन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । ६ बिघा क्षेत्रफमा फैलिएको गजेन्द्रमोक्ष दिव्यधाम परिसरमा विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझंै बढाएको छ ।
स्वामी मुक्तिनाथबाबाको सक्रियतामा धाम परिसरमा श्रीगजेन्द्रमोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशालालगायतका विभिन्न संरचना निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, बाल्मिकी आश्रम, महर्षि वाल्मिकीले आदि काब्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि, आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।
गजेन्द्र मोक्षधामकोे पौराणिक धार्मिक महत्व समेत रहेको छ । पौराणिक कालमा गजेन्द्र (हात्ती) नारायणी (गण्डकी) मा जलबिहार गरिरहेको अवस्थामा ग्राह (गोही)ले खुट्टामा समाउँदा लामो समय युद्ध हुन्छ । गजेन्द्रले हरी विष्णुलाई पुकार गर्छन । गरुणारुढ भगवान विष्णुको अवतार लिई सुर्दशन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको हुँदा यो क्षेत्र गजेन्द्रमोक्ष दिव्यधाम हुन गएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको धामका उत्तराधिकारी प्रपन्नाचार्यले जानकारी दिनुभयो । यस क्षेत्रको दर्शनले दुःखकष्टबाट छुट्कारा ,मोक्षगति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस्तै पितृकार्य, श्राद्ध ,तर्पण ,जप गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने मान्यता समेत रहिआएको छ ।
त्रिवेणी धामलाई मुस्ताङको मुक्तिनाथ र दामोदर कुण्डसंग पनि जोडेर यसको महत्वलाई वर्णन गर्ने गरिन्छ । नेपालकै प्रमुख धार्मिक तिर्थस्थलको रुपमा रहेको दामोदर कुण्डलाई शिर , मुक्तिनाथलाई मुख र त्रिवेणीलाई चरणपाउका रुपमा जोडेर धार्मिक रुपमा चर्चा गर्ने गरिएको गजेन्द्र मोक्षधामका उत्तराधिकारी प्रपन्नाचार्यले बताउनुभयो ।
यस क्षेत्रको विकासमा केन्द्र सरकारबाट पनि सहयोगको अपेक्षा रहेको उहाँ बताउनुहुन्छ । स्थानीय सरकार र प्रदेश सरकारले सहयोग हुँदै आएको भए पनि केन्द्रबाट भने हुन नसकेको उहाँले बताउनुभयो ।
(ज्ञानु पंगेनीले गोर्खापत्र अनलाईनमा लेखेका छन्।)