सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा दुईवटा खोपको ट्रायल गर्ने तयारी

काठमाडौँ — नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

Sana Kishan

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

नेपालमा ट्रायल गर्नका लागि प्रक्रिया अगाडि बढाइएका दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पुर्‍याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ ।

यस्तै, अस्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको हो भने सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंकै हुने छ । यसको तयारी प्रारम्भिक चरणमा नै रहेकोले थप जानकारी हाललाई उपलब्ध गराउन नमिल्ने एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार परिषदको इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सलले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको छ भने अस्ट्रेलियन खोपको ट्रायल गर्ने बारेमा प्रशासनिक र प्राविधिक काम भइरहेका छन् । उनले दिएको जानकारीअनुसार क्लोभरको खोपको सम्बन्धमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्छ ।

‘हामीले खोपका बारेमा इथिकल विषयवस्तु मात्रै हेर्ने हो । अन्तिम निर्णय मन्त्रिपरिषदले नै गर्छ,’ डा. ज्ञवालीले भने, ‘हामीले परिषदकै नेतृत्वमा गर्ने भनेको ट्रायलका लागि भने मन्त्रालयमा अझै छलफल भइरहेको छ ।’

शिक्षण अस्पतालमा हुने ट्रायलको नेतृत्व गरिरहेकी त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) की डिनसमेत रहेकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहका अनुसार आईभीआईको सहयोगमा हुन लागेको ट्रायल कुल १८ सय जनामा गरिने छ ।

‘यो खोपको ट्रायल कोभ्याक्सअन्तर्गत हो । यस भ्याक्सिनको विश्वभर कुल ३४ हजार ट्रायल हुँदैछ,’ उनले भनिन्, ‘त्यसमध्ये नेपालमा १८ सय जनामा मात्रै परीक्षण गर्न लागिएको हो । एनएचआरसीले स्वीकृति दिइसकेको छ । अब मन्त्रिपरिषदको स्वीकृति बाँकी छ ।’

डा. शाहका अनुसार नेपालमा हुने ट्रायलमध्ये पहिलो चरणमा शिक्षण अस्पतालबाट १२ सय जनालाई र धुलिखेल अस्पतलामा ६ सय जनालाई खोप दिने तयारी भएको छ । त्यही संख्या अनुसार दुवै केन्द्रहरुमा पूर्वाधार तयार समेत गर्न थालिएको छ ।

यस्तै धुलिखेल अस्पतालमा हुने अनुसन्धानको नेतृत्व गरिरहेका औषधि विशेषज्ञ डा. राजीव श्रेष्ठका अनुसार पहिलो चरणमा नेपाललाई १८ सय जनामा परीक्षण गर्ने जिम्मा दिइएको भए पनि अनुसन्धान प्रक्रिया छिटो भए अन्यत्र हुने परीक्षणको संख्या पनि नेपालले प्राप्त गर्न सक्छ । ‘यो कम्पिटेटिभ इनरोलमेन्ट हो । भनाइको मतलब हामीले समयमै १८ सयलाई खोप दिन सक्यौं भने अन्य कुनै देशमा ढिलाइ भए त्यो संख्या पनि हामीले प्राप्त गर्न सक्छौं,’ उनले भने, ‘त्यस्तो भयो भने हामी कहाँ ५ हजारजनासम्ममा पनि खोपको परीक्षण हुन सक्छ ।’

डा. श्रेष्ठका अनुसार तेस्रो चरणका ट्रायल भनको खोपको प्रभावकारिता कति छ भनेर मूल्यांकन गर्नका लागि गरिने हुँदा सुरक्षित मानिन्छ । ‘तेस्रो चरणको ट्रायलमा लगाउने खोप धेरै हदसम्म सुरक्षित हुन्छ,’ उनले भने, ‘पहिलो र दोस्रो चरणको ट्रायलमा कति मात्रामा कसलाई खोप दिने भन्ने यकिन भइसकेको हुन्छ । यो त अब केवल प्रभावकारिता मूल्यांकनका लागि हो ।’ उनका अनुसार नेपालले कोभ्याक्स अन्तर्गतको खोपको ट्रायलमा सहभागीता जनाउनु भनेको ठूला उपलब्धि हो ।

‘हामीले भ्याक्सिनको विकासमा योगदान दिए खोप पनि समयमै आइपुग्छ,’ उनले भने, ‘आखिर यो कोभ्याक्समा सूचीकृत खोप हो जहाँ ट्रायल भए पनि नेपाल जस्तै अल्पविकसित मुलुकहरुमा नै आउने हो । त्यसैले हामीले यसलाई सहयोग गर्नु नै राम्रो हुन्छ ।’ उनका अनुसार नेपालमा आईभीआई अन्तर्गतकै टाइफाइडको खोपको पनि सफल ट्रायल गरिएकोले कोभिड–१९ को खोपको पनि ट्रायलका लागि अवसर दिइएको हो ।

यद्यपि स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतले भने शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा गरिने भनेको खोपको ट्रायलमा संलग्न हुनेहरु करिब ३६ महिनासम्म निरन्तर सम्पर्कमा रहनुपर्ने भएकाले उक्त ट्रायललाई अहिले अगाडि नबढाउने पक्षमा इन्सिडेन्ट कमाण्ड सेन्टर (आईसीएस)मा छलफल भएको दाबी गरे । ‘ट्रायलमा संलग्न हुनेहरुले अन्य खोप उपलब्ध भएको खण्डमा पनि त्यो लगाउन नपाउने स्थिति बन्छ भनेर आईसीएसले त्यसलाई अगाडि नबढाउने भनेको हो,’ स्रोतले भन्यो ।

क्लोभरले विकास गरेको खोपको ट्रायल विश्वको विभिन्न मुलुकमा गरी ३४ हजार जनामा हुने छ । नेपाल लगायत फिलिपिन्स, घाना र मोजाम्बिकलाई ट्रायल गर्नका लागि आवश्यक पूर्वाधार एवं तालिम उपलब्ध गराउन दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग प्रदान गर्नेछ । यसका लागि आईभीआईलाई ‘कोयलेसन फर इपिडेमिक प्रिपियडनेस इनोभेसन्स’ (सीईपीआई) तथा बील एण्ड मेलिण्डा गेट्स फाउण्डेसनलेसमेत सहयोग गरेको आईभीआईको वेबसाइटमा उल्लेख गरेको छ ।

क्लोभरले विकास गरेको यो खोप प्रोटिनमा आधारित एस-ट्रिमर कोभिड–१९ खोप हो । यसलाई कोरोनाभाइरसकै ‘स्पाइक प्रोटिन’ प्रयोग गरेर विकास गरिएको छ । यसको प्रभावकारितालाई थप मजबुत बनाउनका लागि क्लोभरले बेलायती औषधि उत्पादक जीएसके र अमेरिकी कम्पनी डाइनाभ्याक्ससँग पनि सहकार्य गरिरहेको छ । नेपालमा हुने ट्रायलमा भने क्लोभरको एएस ०३–ट्रिमर खोपलाई जीएसकेको एडजुभेन्ट प्रणालीसँग मिलाएर तयार पारिएको खोपको प्रयोग हुने छ ।

यस्तै भ्याक्जाइनले विकास गरेको खोप कोभ्याक्स–१९ मा पनि कोरोनाभाइरसकै ‘स्पाइक प्रोटिन एन्टिजेन’का साथै सोही कम्पनीले विकास गरेको ‘एड्भाक्स’ एड्जुभेन्टको प्रयोग गरिएको छ । यो खोपको विकास गर्नका लागि अस्ट्रेलियन सरकारले आर्थिक सहायतासमेत प्रदान गरेको छ । यहाँ ट्रायलका लागि प्रस्ताव गरिएको खोपहरुका पहिलो र दोस्रो चरणका अनुसन्धानहरु सफल रहेको खोप विकास गर्ने कम्पनीहरुले दाबी गरेका छन् ।

विश्वका विभिन्न देशहरुमा तेस्रो चरणको अनुसन्धामा सफल रहेको दाबी गरिएका खोपहरुको आपत्कालिन प्रयोग सुरु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि माघको ३ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ ।ekantipur बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.