काठमाडौं । सरकारले गरेको संसद् विघटनको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको गर्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ बूढानिलकण्ठमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सभापति देउवाका स्वकीय सचिव विरिन्द्र थापाले लेखाजोखालाई जानकारी दिएका छन् ।
२५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय लाग्ने भन्दै कांग्रेसले बैठक समेत स्थगित गरेर माघ ६ गतेका लागि बोलाएको छ ।
सरकारले संसद् विघटन गरेको कदम असंवैधानिक भएको भन्दै सरकारको यस कदमविरुद्ध कांग्रेसले लगातार देशव्यापी प्रदर्शन गर्न लागेको छ । कांग्रेसले माघ ८ गते स्थानीय तहका ६ हजार ७४३ वडामा प्रदर्शनको तयारी गरेको छ ।