सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्‍त्री ओलीले भने, नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन !

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले यस्तो भनेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित गर्दै ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको प्रष्ट पारे।

उनले प्रचण्ड र नेपालले पार्टी आफ्नो भएको दाबी गरेकोप्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। उनले प्रचण्ड र नेपाललाई छोरी, बुहारी र सम्धीको मात्र मतलब भएको भन्दै नेकपा उनीहरुको हुनै नसक्ने दाबी गरे। उनले पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड(नेपाल समूहलाई सुझावसमेत दिए।

World Link Ads
Mahakali Polytechnic

‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे ! जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन’, ओलीले भने, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

ओलीले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीहरुको मन आफन्तरितबाट देशतिर लगाउनुपर्ने ओलीको भनाइ छ। प्रचण्ड र नेपालको आँखा कमाउनेतर्फ भएको भन्दै ओलीले उनीहरुको चर्को आलोचना गरे।

‘पहिला उहाँहरुको मन परिवर्तन गर्नुहोस्। पहिला उहाँहरुको मानसिकता परिवर्तन गर्नुहोस्। उहाँहरुका आँखा आफन्त तिर होइन देशतिर लगाउनुहोस्। देशतिर फर्काउनुहोस्’, ओलीले भने, ‘उहाँहरुका आँखा कमाउनेतिर होइन देश विकास गर्नेतर्फ लगाउनुहोस्। नत्र भने ध्यान कता छ उहाँहरुको ? छोरी, ज्वाइँ, भतिजा, भाइ, बुहारी, सम्धीसम्धीनी, आफन्त, भाञ्जो, सालो, नाती थप भन्नुपर्ला जस्तो लाग्दैन।’

ओलीले आफूले कोही एउटा आफ्नो मान्छेलाई माथिल्लो अवसर दिएको भए देखाउन चुनौती दिएका छन्।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेलाई संविधान पढ्न आग्रह

ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई संविधान पढ्न आग्रह गरेका छन् । प्रचण्ड र नेपालले असंवैधानिक भनेर हल्ला चलाएकोसमेत उनले बताए ।

‘प्रतिनिधिसभाको विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई संविधान पढ्न आग्रह गर्छु’, ओलीले भने, ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म सर्वसम्मत देशको प्रधानमन्त्री हुँ । मैले विघटनको सिफारिस गरिसकेपछि प्रतिनिधिसभामा अर्को विकल्प छैन । फेरि प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा कुनै हिसाबले पनि ठिक छैन । अब प्रतिनिधिसभा चुनाव गरेर आउँछ ।’

Sana Kishan

चुनाव वैशाख १७ र २७ मै हुन्छ
ओलीले मध्यावधि चुनाव चुनाव वैशाख १७ र २७ गते नै हुने दाबी गरेका छन् ।

‘चुनावका लागि दुईटा मिति सिफारिस गरेको छु । त्यसको तयारीमा निर्वाचन आयोग लागिपरेको छ । वैशाख १७ गते शुक्रबार र वैशाख २७ गते सोमबार चुनाव हुन्छ हुन्छ । ढुक्क हुनुहोस्’, ओलीले भने ।

चुनावको समयमा खराब तत्वलाई गाउँमै चुनावको माध्यमबाट ठेगान लगाउनसमेत ओलीले आग्रह गरेका छन् । ‘खराब तत्वलाई तपाईंहरुले गाउँमै ठेगान लगाउनुपर्छ । माथि गए भने दुःख दिन्छन्’, ओलीले भने, ‘भ्रष्ट, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगानुहोस् । तपाईंहरुले अरु केही गर्नु पर्दैन तिनीहरुलाई भोट नहाले पुग्छ ।’

देशभरबाट १० सिट जितेर देखाउन चुनौती

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाललाई मध्यावधि चुनावमा १० सिट जितेर देखाउन चुनौती दिएका छन्।

‘तीन करोड मान्छेमा कतिजना मान्छे गए ? सुन्नुभयो( उहाँहरु २६५ कि कति गयौँ भन्छन्। अनि के भयो त ? नुहाउँदा पनि दुई चार केस झरेर जान्छ के हुन्छ ?’, ओलीले भने, ‘दुई अंकमा सिट जितेर देखाउनुहोस्। देशभरीबाट १० सिट जितेर देखाउनुहोस्।’

ओलीले पार्टीका केही नेता अश्लिल नाराबाजी गर्दै हिँडेको तर आफूलाई देश बनाउने चिन्ता मात्र भएको बताए।

‘प्रचण्ड र माधव नेपाल अगाडि लागेर अश्लिल नाराबाजी गरेर हिँडेका छन्। गालीगलोज गरेर हिँडेका छन्। हामीलाई गाली गलोज गरेर हिँड्ने फुर्सद छैन। हामीलाई देश बनाउने चिन्ता छ’, प्रधानमन्त्री ओलीले भने।

 

प्रधानमन्त्री ओलीले आफूले विकास निर्माणको क्षेत्रमा धेरै काम गरेको दाबीसमेत गरेका छन् । उनले देशको रक्षाका लागि आफू लड्दा केही नेताहरु आफूविरुद्ध लागेको र सडकमा पुगेको बताए । कार्यक्रममा सम्बोधनका क्रममा सुरुमा आफूले गरेका कामको व्यख्या गरेका ओलीले थप समय प्रचण्ड–नेपाल समूहको आलोचनामा खर्चिए । उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नु गलत भएको बताए । कतिपयले प्रतिनिधिसभा विघटन हुने बताउँदै आएको भन्दै उनले अब वैशाख १७ र २७ गते चुनाव भएपछि मात्र प्रतिनिधिसभा बन्ने दाबी गरेका छन् ।

(अन्नपूर्ण पोष्टबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.