सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना महामारी बीच नै काँचो इँटा उत्पादन !

कोरोना भाइरस संक्रमण महामारीबीच नै भक्तपुरमा धमाधम काँचो इँटा उत्पादन गरिएको छ। भक्तपुरका इँटा उद्योगीहरुले यस वर्ष इँटा उत्पादन नगर्ने निर्णय गर्दागर्दै पनि यहाँ काँचो इँटा उत्पादन रोकिएन।

भक्तपुरको भक्तपुर नगरपालिका(१० वन्ती र चाँगुनारायण नगरपालिका वडा नं. ३, ५, ८ र ९ मा विभिन्न जिल्लाबाट आएका मजदुरहरुले काँचो इँटा तयार गरिरहेका छन्।

भक्तपुरमा ६२ वटा इँटाभट्टा रहेका छन्। जसमध्ये सबैभन्दा बढी चाँगुनारायण नगरपालिकामा ५० वटाभन्दा बढी इँटाभट्टा रहेका छन्। त्यसैले इँटा उद्योगी व्यवसायी र चाँगुनारायण नगरपालिकाले यस वर्ष इँटाभट्टा सञ्चालन नगर्ने सहमतिसमेत गरेका थिए तर उक्त सहमति विपरित चाँगुनारायण नगरपालिकाकै धेरै ठाउँमा अहिले इँटा तयार भइरहेको छ।

World Link Ads
Mahakali Polytechnic

भक्तपुरभन्दा बाहिर सिन्धुली, रामेछाप, सर्लाहीका मजदुर ल्याएर इँटा उत्पादन भइरहेको उद्योगी व्यवसायीहरु बताउँछन्। यसअघि पश्चिम नेपालको रुकुम, रोल्पा, दाङदेखिका मजदुरहरु भक्तपुरमा इँटा पार्न आउने गरेका थिए। त्यस्तै भारतबाट इँटाभट्टामा बस्ने पत्थरीहरु आउँथे।

यसरी भारत र नेपालकै पूर्वपश्चिमका हजारौं व्यक्ति भक्तपुर ल्याउँदा कोरोना भाइरस संक्रमण फैलिने उच्च सम्भावना रहन्छ। त्यसैलाई दृष्टिगत गरी यहाँका इँटा उद्योगी व्यवसायीहरुले यस वर्ष इँटाभट्टा नै सञ्चालन नगर्ने निर्णय लिएका थिए तर काँचो इँटामात्रै उत्पादन गर्ने ठेकेदारहरुले निर्णय विपरित बाहिरी जिल्लाबाट मजदुर झिकाएर अहिले धमाधम इँटा उत्पादन गरिहेका छन्।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले कोरोना भाइरस संक्रमण फैलिनसक्ने भएकाले इँटा तयार नगर्न आग्रह गर्दा पनि ती ठेकेदारहरुले नसुनेको बताए। उनका अनुसार एउटा इँटाभट्टामा करिब ३ सय मजदुरहरुले काम गर्छन्। जिल्लाका ६२ वटै इँटाभट्टा सञ्चालन भए भक्तपुरमा करिब २ लाख मजदुर बाहिरबाट ल्याउनुपर्ने हुन्छ।

Sana Kishan

जिल्ला बाहिरबाट करिब २ लाख मजदुर ल्याउँदा कोरोना भाइरस संक्रमण हुनसक्ने कारण नै आफूहरुले यस वर्ष इँटाभट्टा सञ्चालन नगर्ने निर्णय गरेको उनले स्पष्ट पारे।‘तैपनि काँचो इँटा तयार गर्ने ठेकेदारहरुले मानेनन्’, अध्यक्ष ह्योम्बाले भने। उनका अनुसार यसरी तयार गरिएको काँचो इँटा काठमाडौं, ललितपुर र काभ्रेका इँटा उद्योगले किन्ने गरेका छन्। संघले यसवर्ष इँटाभट्टा सञ्चालन नगर्ने निर्णय गरे पनि उसकै एक सदस्य इँटाभट्टाले जिल्ला बाहिरबाट मजदुर झिकाएर काँचो इँटा उत्पादन गरिरहेको छ।

चाँगुनारायण नगरपालिका(३ झौखेलस्थित संघकै सदस्य इँटाभट्टाले इँटा उत्पादन गरिरहेको हो। अध्यक्ष ह्योम्बाले उक्त इँटाभट्टाका सञ्चालकलाई पटकपटक इँटा उत्पादन नगर्न निर्देशन दिँदा पनि अटेरी गरेको बताए। धेरै वर्ष संघको सदस्य नबनेको उक्त इँटाभट्टा गर्त वर्षमात्रै संघमा आवद्ध भएको थियो। उनले यसवर्ष सञ्चालित इँटाभट्टाबाट कोरोना भाइरस संक्रमण फैलिए सोही उद्योगी व्यवसायी जिम्मेवार हुनेसमेत स्पष्ट पारे।

त्यस्तै चाँगुनारायण नगरपालिकाले उद्योगी व्यवसायीहरुसँग भएको सहमतिअनुसार नगर क्षेत्रमा कुनै पनि किसिमको इँटाभट्टा सञ्चालन नगर्न सूचना जारी गरेको थियो तर नगरपालिकाको उक्त सूचनालाई बेवास्ता गर्दै चाँगुनारायण नगरपालिका क्षेत्रमै सबैभन्दा बढी इँटा उत्पादन भइरहेको छ।

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नगरपालिकाको सूचनाविपरीत इँटा उत्पादन तथा भट्टा सञ्चालन गर्नेहरुलाई कारबाही गरिने जानकारी दिए। नगर क्षेत्रमा इँटा उत्पादन भइरहेको जानकारी आएलगत्तै सम्बन्धित व्यवसायी तथा व्यक्तिलाई इँटा उत्पादन गर्ने कार्य नगर्न निर्देशन दिइएको उनले बताए।

‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न यसवर्ष इँटाभट्टा सञ्चालन गर्न पाइँदैन भनेका छौं’, मेयर मिश्रले भने, ‘त्यसैले इँटा उत्पादन गर्न पाइँदैन। इँटाभट्टा चलाउन पाइँदैन।’तर नगरपालिकाले सूचना जारी गरेको महिना हुँदा पनि इँटा उत्पादन रोकिएको छैन। सुरुमा केही ठाउँमा फाट्टाफुट्ट इँटा उत्पादन भएको थियो तर त्यसलाई नरोक्दा अहिले अन्यत्रसमेत इँटा उत्पादन गरिएको उद्योगी व्यवसायीहरु बताउँछन्।

‘नगरपालिकाले इँटा उत्पादन नगर्न भनेकाले रोकियो होला भन्ने सोचेका थियौं’, मेयर मिश्रले थपे, ‘अहिलेसम्म रोकिएको छैन भने अब कानुनी कारबाहीतर्फ अघि बढ्छौं।’
उनले इँटा उत्पादन गर्न प्रयोग भएका उपकरण तथा मेसिनलगायत जफत गरिनेसमेत बताए। (ईश्वरकाजी खाइजू ले अन्नपुर्ण  पोष्टमा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.