लमजुङमा ३० वर्षसम्म फलामको साङ्लोमा बाँधिएर पशुतुल्य जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई श्रीमानव सेवा आश्रम लमजुङले प्रशासनको सहयोगमा उद्धार गरी जिल्ला सदरमुकाम ल्याएको हो ।
गुरुङलाई उनको परिवारले साङ्लोले बाँधेर राखेको भन्ने जानकारी पाएपछि प्रशासनसहितको टोली उद्धारका लागि उनको घरमा पुगेको थियो । दाहिने हातमा फलामको साङ्लोले बाँधेर राखिएको अवस्थामा भेटिएका उद्धार टोलीले जनाएको छ ।
१८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका गुरुङको उपचार हुन नसकेपछि आफ्नै घरमा साङ्लोमा बाँधिन विवस थिए । बाँधेर राखिएको अवस्थामा आफूहरूले उद्धार गरी ल्याएको श्रीमानव सेवा आश्रम लमजुङका संयोजक अनिता अधिकारीले बताइन् ।
‘दोर्दी गाउँपालिकाका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्धार गरी श्रीमानव सेवा आश्रममा ल्याइएको होे ।’ उनले भनिन् ।आफ्नै परिवारले साङ्लोमा बाँधेर राखेको छ भन्ने खवर पाएपछि उद्धारका लागि पहल गरिएको अधिकारीले जानकारी दिइन् । उनले भनिन्, ‘आश्रमले गुरुङका लागि आवश्यक पर्ने सबै सहयोग औषधी उपचारदेखि लालनपालन सबै गर्ने र निको भएपछि पारिवारिक पुनर्मिलन गराइनेछ ।’
झाँक्रीदेखी डक्टर समेतले निको पार्न सकेनन.मानसिक सन्तुलन गुमेपछि उपचारका लागि धेरै ठाउँ पु(याउँदा पनि निको नभएपछि आफ्नै घरमा साङ्लोले बाँधेर राखेको गुरुङका ठूलो दाजु बेनीराम गुरुङले बताए ।‘यतिकै राख्दा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही टिपेर अरूलाई हिर्काउने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्न थालेपछि साङ्लोले बाँधेर राख्नुपरेको हो ।’ उपचारका लागि काठमाडांै, चितवन, पोखरादेखि भारतसम्म पुर्याएको तर निको नभएको उनको भनाइ छ ।
भर्ती हुन नपाएपछि गुमेको मानसिक सन्तुलन.गुरुङ चार दाजुभाइमध्येका कान्छा हुन् । १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनका लागि भारत गएको र भर्ती हुन नसकेपछि घर फर्केको र मानसिक सन्तुलन गुमेको उनका माइला दाजु यमप्रसाद गुरुङले बताए ।
उनका अनुसार गाउँघरमा गरिने धामीझाँक्रीदेखि डाक्टरकोमा लगेर उपचार गरेको हो ।‘उपचार गराउनका लागि सम्भव भएसम्म सबै ठाउँमा पु(याउँदा पनि निको नभएपछि परिवारले घरमै बन्धक बनाएर साङ्लोले बाँधेर राख्न बाध्य भयौं ।’ उनले भने ।
भाइको मानसिक सन्तुलन गुमेपछि परिवार र गाउँलेलाई धेरै दुःख दिएको उनले जानकारी दिए । ‘गुरुङलाई भत्किएको कोठामा फलामको सांलोले बाँधेर पशुतुल्य बनाई राखिएको रहेछ, हामी उनको घरमा पुग्दा सुत्न बस्नका लागि एउटा फलेक ओच्छाइएको थियो । कुनै पनि कपडा थिएन । साथमा एउटा कम्मल मात्र थियो,’ श्रीमानव आश्रमकी संयोजक अनिताले भनिन् ।
गुरुङका बाबाआमा छउञ्जेल बाबा आमाले हेरचार गर्दै आए पनि करिब १० वर्षअघि बाबाआमाको मृत्यु भएपछि गुरुङलाई ठूलो दाइ बेनीरामले हेरचाह गर्दै आएको उनको परिवारको भनाइ छ । परिवारका अनुसार मानसिक सन्तुलन गुमेका गुरुङले आफू बस्दै आएको कोठाको भित्ताको पर्खाल पनि भत्काइदिएका थिए ।
२०७३ साल चैत्र १२ गते लमजुङमा स्थापना भएको श्रीमानव सेवा आश्रमले हाल गुरुङसहित ७२ जनालाई सेवा दिएको छ । आश्रमले निको भइसकेपछि १३ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । १८ जनालाई लमजुङबाट अन्य ठाउँमा स्थान्तरण गरिएको छ । ६ जनाले स्वयेच्छाले आश्रम छोडेका छन् । ८ जनाको आश्रममै मृत्यु भएको छ । हाल ५ जना बालबालिका, ११ जना महिला र १० जना पुरुष गरी २६ जनाले सेवा लिइरहेको आश्रमका संयोजक अनिताले बताइन् । (Gnews nepal बाट साभार)