नेपाली कांग्रेसले संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ।
सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गरी संसद विघटनविरुद्ध पुस १३ गतेको हुने प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका हुन्। कांग्रेसको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको गर्ने निर्णय गरेको थियो।
देउवाले कार्यकर्ता, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता जनाउन पनि अपील गरेका छन्।
कांग्रेस पदाधिकारीको बैठकले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको पनि स्मरण देउवाले गराएका छन्।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ। जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफँैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।