Tuesday, January 19, 2021

टुट्यो साढे चार दशकको सम्बन्ध

- Advertisement -

काठमाडौँ — तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्‍याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलत: तत्कालीन एमाले फुटेको छ ।

टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमाले भनेर चिनिने मूल नेतृत्व पंक्तिमा रहेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल भने विभाजित भएका छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित १५ जना पदाधिकारीमध्ये नेपाल र खनालसहित नौ जना मंगलबारबाट पुष्पकमल दाहालको धारसँग औपचारिक रूपमा जोडिएका छन् । ओलीसहित ५ जना भने एकातिर भएका छन् । एक जना विद्यादेवी भण्डारी राष्ट्रपति छिन् ।

दाहाल त पार्टी एकताका क्रममा ३० महिनाअघि मात्र एउटै दलका रूपमा ओली, नेपाल र खनालसँग मिसिएका हुन् । दाहालले चार दशकदेखि नै कम्युनिस्ट पार्टीको छुट्टै धारको नेतृत्व गर्दै आएका थिए ।

ओली, नेपाल र खनाल भने करिब साढे चार दशकदेखि एउटै पार्टीमा अन्तरसंघर्ष र सहकार्य गर्दै हिँडेका थिए । यो सहकार्य मंगलबारबाट टुटेको छ । माले हुँदै एमाले बनेर कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण बहुदलीय राजनीतिक प्रतिस्पर्धामा स्थापित गराउनेमध्ये मूल नेतामा पर्छन्– ओली, नेपाल र खनाल । अहिले उनीहरूबीच फुट आएको छ र अब अलग–अलग पार्टीका रूपमा अभ्यास गर्ने बिन्दुमा पुगेका छन् । ‘कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउन योगदान गर्ने नेताहरूमध्ये उहाँहरू पनि हो,’ नेकपाको दाहाल–नेपाल समूहमा रहेका नेता टंक कार्कीले भने, ‘विगतमा पनि केही टुटफुट भए तर यो बेलाको फुटले कम्युनिस्ट आन्दोलनलाई निकै ठूलो क्षति पुगेको छ ।’

तत्कालीन एमाले धारको मूल नेतृत्वमा रहेका नेताहरूबीचको फुटबाट नेकपाको ओली पक्षका नेताहरू खुसी छैनन् । ‘राम्ररी ख्याल नगरी पार्टी एकता गर्दा अहिले तत्कालीन एमालेमा फुट आयो,’ नेकपाको ओली समूहका नेता हिक्मत कार्कीले भने, ‘केपी ओली र माधव नेपाललाई फुटाउँदा मात्र एमालेलाई कमजोर पार्न सकिन्छ भन्नेहरू पहिले पनि थिए, अहिले उनीहरूको इच्छा पूरा भएको जस्तो देखिएको छ तर ओली नेतृत्वको पार्टीले एमालेको पुरानो आधार झन् मजबुत बनाएर ल्याउँछ ।’

झापा आन्दोलन, कोअर्डिनेसन केन्द्र हुँदै पञ्चायतकालमा बनेको माले पार्टी नै ओली, नेपाल र खनालको मूल हाँगो हो । त्यही हाँगोमा मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादी मिसिएपछि एमाले बनेको थियो । २०५० सालमा मदन भण्डारीको अवसानपछि भण्डारीले अघि सारेको जबजको सिद्धान्तको बलमा एमाले झन्–झन् झागिँदै गयो । यही कालखण्डका करिब साढे दुई दशक निरन्तर यी तीन नेताले पालैपालो नेतृत्व गरेका थिए । त्यही नेतृत्व गर्ने क्रममा प्रकट भएका आपसी तिक्तताले अहिले उनीहरूबीच विभाजनमा मसला थप्यो । आफूले पार्टी नेतृत्व गरेका बेला ओली, नेपाल र खनालमध्ये कसले कसरी असहयोग गरेका थिए भन्ने पोल खोलाखोल गरेका छन् । जसलाई हेर्दा उनीहरूबीच अहिलेको फुटभित्र धेरै सैद्धान्तिक कारण नरहेको नेकपा मालेका महासचिव सीपी मैनाली बताउँछन् । ‘कुनै बेला उहाँहरू सबैले मिलेर मलाई स्पष्टीकरण दिने मौकासमेत नदिईकन नेतृत्वबाट निकाल्नुभयो,’ उनले भने, ‘अहिले उहाँहरूबीच पनि फुट आएको छ । यो फुटमा सैद्धान्तिकभन्दा पनि उहाँहरूका कार्यशैलीगत कुरा धेरै जोडिएको देख्छु ।’

त्रिपक्षीय शक्ति संघर्ष

झन्डै साढे दुई दशकदेखि निरन्तर नेतृत्वमा रहेका ओली, नेपाल र खनालबीच तत्कालीन एमालेभित्र त्रिपक्षीय टकराव थियो । त्यही टकरावका कारण कहिले चर्को गुटबन्दी चल्थ्यो । तत्कालीन एमालेभित्र सबैभन्दा लामो समय ओली र नेपालबीच नै तिक्तता रह्यो । अहिले फुटका बेला पनि सबैभन्दा बढी तुष उनीहरूबीच नै देखियो । उनीहरूसँग करिब १५ वर्ष नेपालले महासचिव चलाउँदाका असन्तुष्टिका शृंखला थिए । मदन भण्डारीको निधनपछि नेपाल महासचिव भए । तर भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको असली नेतृत्वकर्ता आफू भएको दाबी ओलीले गर्थे । ओली समूह कमजोर थियो तैपनि उनी नेपालका कार्यशैलीको विरोध गरिरहन्थे ।

२०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर एमाले विभाजन हुँदा सीपी मैनाली र वामदेव गौतमलगायत छुट्टिएर गए । पार्टी विभाजनको अप्ठेरो अवस्थामा ओली र नेपाल एकै कित्तामा रहे । २०६४ को संविधानसभा चुनावमा एमालेले हार बेहोरेपछि नेपालले राजीनामा दिए । त्यसपछि खनाललाई महासचिव बनाइयो । नेपालले छाडेपछि ओली स्वत: नेतृत्वमा आउन चाहन्थे । तर उनको चाहनामा नेपालले सहयोग गरेनन् । २०६५ सालको आठौँ महाधिवेशनमा खनाल र ओलीबीच अध्यक्षको प्रतिस्पर्धा भयो । ओली हारे । खनाल जितेर आएपछि पार्टीभित्र ओली र नेपाल एक ढिक्का भए । खनालको कार्यशैलीमाथि ओली र नेपालले संयुक्त रूपमा प्रश्न उठाए । आठौं महाधिवेशनपछि करिब ३ वर्षसम्म खनालविरुद्ध ओली र नेपालले मिलेर संघर्ष गरे । त्यो बेला खनाल माओवादीसँग सहकार्य गरेर जाने पक्षमा थिए । ओली–नेपाल संघर्षको नीतिमा जानुपर्ने पक्षमा थिए । पहिलो संविधानसभापछि पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नेपाल प्रधानमन्त्री बने । नेपाल प्रधानमन्त्री बन्नुमा ओलीको पनि भूमिका थियो । नेपाल नेतृत्वको सरकारविरुद्ध तत्कालीन माओवादीले सडक संघर्ष गरेको थियो । त्यसबेला ओली नै नेपालको सरकारको बचाउमा लागेका थिए ।

पार्टीभित्र खनाल र गौतम पक्षले नेपाल नेतृत्वको सरकारलाई असहयोग गरिरहेका थिए । सरकारविरुद्घ हस्ताक्षर अभियानसम्म चलेको थियो, तत्कालीन माओवादी पनि सडकमा थियो । त्यसबेला ओली नेपाल नेतृत्वको सरकारको पक्षमा उभिएका थिए । १५ वर्ष महासचिव भइसकेको, राष्ट्रिय सभा र प्रतिनिधिसभामा विपक्षी दलको नेता हुँदै प्रधानमन्त्री भइसकेको व्यक्ति र सरकार चलाउँदाको संकटका बेला गरेको सहयोगको गुन नेपालले तिर्ने विश्वासमा ओली थिए । तर फेरि पार्टी अध्यक्षमा आफैं अघि सर्न खोजेपछि नेपालसँग ओलीको मोहभंग भयो । ‘उस्तै–उस्तै क्षमता, राजनीतिक योगदान, भूमिका भएको व्यक्ति एउटाले पटक–पटक अवसर पाइरहने, अर्को भने सधैं उसको पछि रहनुपर्ने ?’ ओली तर्क गर्थे ।

दोस्रो संविधानसभा चुनावपछि नेपालले खनाललाई संसदीय दलको नेता बनाउन सहयोग गरेर उनकै समर्थनमा नवौँ महाधिवेशनबाट अध्यक्ष हुने योजना बनाए । त्यहींबाट ओली र नेपालबीच तिक्तता चुलियो । आफू नेतृत्वमा आउने बेला १५ वर्ष पार्टी नेतृत्व गरेका नेपालले बाटो छेक्न खोजेका रूपमा ओलीले बुझे । त्यसपछि ओलीको आक्रोश खनाल होइन, नेपालतिर केन्द्रित हुन थाल्यो । नवौँ महाधिवेशनमा ओलीविरुद्ध नेपाल नै प्रतिस्पर्धामा उत्रिए । छुट्टै प्यानल बनाएर उनीहरूबीच प्रतिस्पर्धा भयो । ओलीले थोरै मतको अन्तरमा चुनाव जिते । नेतृत्वमा आएपछि ओलीले नेपाललाई ‘कर्नर’ गर्न सुरु गरे । पार्टी एकतापछि ओलीले दाहालसँग मिलेर उनी पक्षका मान्छेलाई कर्नर गरेको भन्ने विषय नै तिक्तता बढ्नुको मूल कारण बनेको छ । कतिपय नेता नेपालले १५ वर्ष महासचिव हुँदा आफूलाई गरेको व्यवहारको हिसाबकिताब ओलीले अहिले उतार्दा फुटकै अवस्था आएको ठान्छन् ।

ओलीको अर्का नेता खनालसँग सुरुदेखि नै सुमधुर सम्बन्ध होइन । २०३९ सालमा सीपी मैनाली कारबाहीमा परेपछि तत्कालीन मालेको महासचिव खनाल बने । त्यतिबेला ओली जेलमै थिए । जब पार्टीमा मदन भण्डारीको उदय भयो, खनाल भण्डारीको विपक्षमा रहे । भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा खनाल नौलो जनवादको पक्षमा रहे । त्यसैले ओली सुरुदेखि नै खनाललाई जबज विरोधी नेताका रूपमा ठान्थे । भण्डारी महासचिव बनेपछि लामो समय कर्नरमा परेका खनाल पार्टीभित्र ओली र नेपालको अन्तरसंघर्षलाई नियालेर मात्र बसेका थिए । २०६४ सालको संविधानसभाको चुनावपछि ओली र नेपाल दुवै नेताले हारे । चुनाव जित्नेमध्येका वरिष्ठ नेता खनाल थिए, नेतृत्व उनकै हातमा आयो । उनी २०६५ को आठौं महाधिवेशनमा अध्यक्ष बने । त्यो महाधिवेशनमा पराजित ओलीले सुरुमै फर्जर्ी प्रतिनिधिका आधारमा जितेको भन्दै आरोप लगाए । चुनाव जितेपछि खनालले पनि ओली र उनको पक्षलाई समेटेर लान ध्यान दिएनन् । ओलीले पनि पार्टी सञ्चालनमा सहयोग गरेनन् । आठौं महाधिवेशनपछि उनीहरूबीच प्रमुख रूपमा माओवादीलाई हेर्ने दृष्टिकोणलाई लिएर मतभेद भयो । खनाल माओवादीसँग मिलेर जानुपर्ने पक्षमा रहे भने ओली कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा उभिए । यही अन्तरसंघर्षका कारण नेपाल संसद्मा आफ्नो बहुमत नगुम्दै पार्टीको दबाबमा प्रधानमन्त्री पद छाड्न बाध्य भए । नेपालले प्रधानमन्त्री छाडेपछि माओवादीसँग सुटुक्क समीकरण मिलाएर खनाल प्रधानमन्त्री बने । ओली पक्षले सहयोग गरेन । यतिसम्म कि खनाल प्रधानमन्त्री बनुन्जेल बालुवाटार नै नछिर्ने कसम ओलीले खाए ।

दोस्रो संविधानसभामा संसदीय दलको नेतामा ओलीले जिते, खनाल हारे । नवौँ महाधिवेशनमा खनाल उठेनन् । माओवादीसँगको एकतापछि ओलीले खनाललाई सुरुमै चिढ्याए । एक त उनी विदेशमा भएका बेला पार्टी एकताको घोषणा भयो । अर्को, उनलाई पार्टी वरीयताको तेस्रो तहबाट चौथो तहमा झारियो । ओलीको सबै नेताहरूसँग सम्बन्ध बिग्रँदै जाँदा खनाल उनी विरोधी कित्तामै रहे । यस्तै व्यक्तिगत र कार्यशैलीगत वैमनस्यका कारण साढे चार दशकदेखि अविच्छिन्न एउटै पार्टीमा रहेका तीन ‘सहयोद्धा’ को नाम अब भने कम्युनिस्ट पार्टीका दुई शिविरका नेताका रूपमा मात्र लिइनेछ ekantipur बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...

बैतडीमा कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र...

बैतडी-  नेपाल विद्यालय कर्मचारी परिषद मेलौली नगर ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । नगर ईकाई कमिटि अध्यक्ष रामचन्द्र ओझाको अध्यक्षतामा बिभिन्न बिषयहरुमा छलफल...

प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुँदै, होला त अन्तिम फैसला?

  प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतवार बहस नसकिएपछि सोमवारका लागि पेशी तोकिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया