प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटको सुदूरपश्चिम छनौटको उपाधि अछामले हात पारेको छ । फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउदै अछामले उपाधि हात पारेको हो ।
अछामले दिएको १६५ रनको लक्ष्य पन्छाएको बैतडी १४९ रनमा समेटियो । बैतडीका लागि प्रदीपचन्दले ३० तथा वीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन् । अछामका लागि सुरज तिरुवाले ३ विकेट हातपारे । त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो । उसकालागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे । बैतडीकालागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान ३÷३ विकेट लिएका थिए । अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।
अछामले यसअघिको पीएमकप छनौटको फाइनलमा बैतडीसंग व्यहोरेको हारको बदला पनि लिएको छ । बैतडी यसअघिको पीएम कप छनौटको फाइनलमा अछामलाई नै पराजित गरेर उपाधि हातपारेको थियो ।
गतमंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुराबाहेकका सुदूरपश्चिमका ८ वटा टोलीको सहभागिता रहेको थियो । यो छनौटप्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए । बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन् ।
फाइनल खेलपछि एक समापन समारोहको आयोजना गरि खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । उक्त समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो ।
प्रधानमन्त्री कप क्रिकेट १५ दिन सर्ने
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट अब व्यवशायिक रुपमा अगाडी बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री कपको सुदूरपश्चिम छनौटको समापन समारोहमा सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
क्यानको नेतृत्व सम्हालिसकेपछि भौतिक पूर्वाधारका कामलाई अगाडी बढाईएको र विभिन्न घरेलु प्रतियोगिताको आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त भइसकेकोले अब क्रिकेटले नयाँ उचाई प्राप्त गर्नेछ”
पुस ११ गतेदेखि गर्ने भनेको पुरुषतर्फको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता १० देखि १५ दिनसम्म सर्न सक्ने उहाँले संकेत गर्नुभएको छ । उहाँले भन्नुभयो,“ महिला र पुरुष प्रतियोगिता संगै गर्दा केही जटिलता उत्पन्न हुनसक्ने भएकोले पुरुष प्रतियोगिता केही दिन सार्ने योजना रहेको छ”