भवानी भट्ट
कञ्चनपुर — भारतको बैंगलोरमा रोजगारी गर्ने कैलाली, टीकापुरका तिलक विक बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । कोरोना महामारीकै बीचमा पनि भारतमै काम गरिरहेका उनी दसैं–तिहार नजिकिएसँगै घर आएका हुन् ।
कञ्चनपुरको गड्डाचौकी नाकामा बुधबार भारतबाट घर फर्किंदै गरेका नेपालीहरु । तस्बिर ः भवानी भट्ट
यसपटक उनले गाडीभाडामै धेरै रकम खर्चनुप¥यो । बैंगलोरबाट महेन्द्रनगर पुग्दा अरू बेला डेढ हजार भारुले पुग्ने गरेकोमा यसपटक ७ हजार भारु खर्च भएको तिलकले बताए । ‘बसभाडा मात्रै होइन, सीमामा आइपुग्दा बनबासा–गड्डाचौकीसम्म अटो रिक्साले पनि दोब्बर–तेब्बर भाडा लिए,’ उनले भने, ‘दुःख सहेर जोगाएको पैसा त बाटोमै सकियो ।’
तिलक ७ वर्षदेखि बैंगलोरको एक होटेलमा काम गरिरहेका छन् । उनी एक–डेढ वर्षमा घर फर्किन्छन् । यसपटक नाकामा जाँचका नाममा पनि अरू बेलाभन्दा धेरै सास्ती भोगे । सीमामा भारतीय भन्सारलाई ५० रुपैयाँ अतिरिक्त तिर्नुपरेको उनले बताए । भारतीय सुरक्षाकर्मीले जाँचका बहानामा घर फर्कने नेपालीबाट अहिले पनि रकम असुलिरहेको उनको भनाइ छ ।
बझाङ, तलकोटका फनबहादुर रोकाया पनि बुधबार केरलाबाट घर फर्किए । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र काम पनि राम्ररी नचलेको भन्दै उनी फर्किएका हुन् । ‘कोरोनाका कारण काम पनि राम्ररी चलेको छैन,’ रोकायाले भने, ‘अलि–अलि ल्याएको खर्च पनि बाटैमा सकिएलाजस्तो भयो ।’
कोरोना महामारीका कारण भारतमा थुप्रै नेपालीले रोजगारी गुमाएका छन् । कतिपय न्यून ज्यालामा काम गरिरहेका छन् । यस्तो अवस्थामा चाडपर्वका बेला घर फर्किंदा लाग्ने खर्चले उनीहरू झनै मारमा परेका छन् । दसैं–तिहारका लागि जोगाएको रकम पनि बाटोमै खर्च हुन थालेको उनीहरूको भनाइ छ ।
केरलाबाट गड्डाचौकी पुग्दा ७ हजार भारु बसभाडामै सकिएको रोकायाले बताए । अरू बेला उनी अढाई–तीन हजार रुपैयाँमा घर पुग्थे । विगतका वर्षमा नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले बसहरूले लिएको बढी भाडा फिर्ता गराउने गरे पनि यसपालि त्यो हुन सकेको छैन ।
रोकाया केरलामा होटेलमा काम गर्छन् । उनले पनि बनबासाबाट गड्डाचौकी पुग्न अटो रिक्सामा ३ सय तिर्नुपरेको बताए । सामान्य अवस्थामा बनबासादेखि गड्डाचौकीसम्मको भाडा २० भारु मात्र हो । ‘हामीसँग नाकामै समेत बढी भाडा लिइएको छ,’ दार्चुलाको गोकुलेश्वरका दिनेश साउदले भने, ‘बनबासादेखि गड्डाचौकीसम्मको मात्रै ४ सय तिरेँ ।’
दसैं–तिहार नजिकिँदै गएपछि केही दिनयता भारतबाट घर फर्किनेको संख्या फेरि बढ्दै गएको छ । गड्डाचौकी नाकाबाट दैनिक ५०र६० जना भित्रिने गरेकोमा अहिले उक्त संख्या बढेर अढाईरतीन सय पुगेको छ ।