महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुल बहादुर थापा सहित एक सय नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक संगठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मान बहादुर कार्की लगायतका एक सय जना छन् ।
नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनीहरु सबै पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा नेता थापा सहित सबैलाई टिका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराईको छ ।
नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सह इन्चार्ज लाल बहादुर बिकले सबैलाई टिका लगाएर पार्टी प्रवेश गराए ।
नेकपाका भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा गरिएको कार्यक्रममा केन्द्रीय सदस्य विक प्रमुख अतिथि थिए ।
कार्यक्रममा नेताहरु सुदूपश्चिम प्रदेश सभा सदस्यहरु लाल बहादुर खड्का, प्रकाश रावल, भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, संविधान सभाका सदस्य टेकेन्द्र प्रसाद भट्ट, नेकपा प्रदेश कमिटी सदस्य हिरा जैसी, नर बहादुर विक लगायत नेताहरु ईश्वरी प्रसाद खरेल, नेकपा कञ्चनपुरका कार्यालय सचिव रबिन्द्र कुँबर, भीमदत्त इन्चार्ज शेर बहादुर चन्द, सह इन्चार्ज लोकराज जोशी लगायतका सहभागी भएका छन् ।
नेकपा भीमदत्त नगर कमिटीका सचिव तारा प्रसाद जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच जिल्ला एकीकरण सकिएको दोस्रो दिन नेताहरु नेकपा आएका हुन् ।
भीमदत्त नगरपालिका बाहेक बेदकोट, पुनर्वास र बेलौरी नगरपालिकामा भने सत्तारुढ नेकपालाई केही अघि कार्यकर्ता रोक्न हम्मेहम्मे परेको थियो ।
बेलौरी र पुनर्वासमा काँग्रेसका छिरेका कार्यकर्ता नेकपामा फर्कि सकेका छन् भने बेदकोटमा कार्यकर्ता पलायनलाई वेवास्ता गरिएको छ ।