महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा चोट लागेको धामीको मंगलबा राति नै महाकाली अस्पतालमा उपचार गरिएको हो ।
सरकारले बेदकोट नगरपालिकाका ३ वडाको जग्गा नाप जाँचका लागि बनाइको समिति गठन सम्बन्धि छलफल गरी घर फर्किएका धामीमाथि अचानक आक्रमण गरिएको हो । आक्रमण कसले किन ग¥यो भन्ने धामीलाई समेत थाहा छैन ।
उनी भन्छन्,‘अचानक भयो, मैले केही थाहा पाएको छैन ।’
सरकारले जग्गा नाप जाँच गर्न समिति बनाए लगत्तै उनीमाथिको आक्रमणलाई तीन वडाको जग्गा विवादसंग जोडेर हेर्न थालिएको छ । स्थानीय जग्गामा अर्कै पूर्जा बनाउने भूमाफिया गिरोहले आक्रमण गराएको आशंका गर्न थालिएको छ ।
बेदकोटका ७,९ र १० नम्बर वडामा डेढ दशकदेखि जग्गाको नापी विवाद छ । तत्कालिन ५ नं. गोश्वराले भूमाफियाको योजनामा स्थानीय जग्गामा नयाँ पूर्जा बनाएपछि विवाद उब्जिएको हो । अध्यक्ष धामी त्यस विवाद विरुद्ध सुरुदेखि संघर्ष गर्र्दै आएका छन् ।
तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारलाई सट्टाभर्ना दिइएको जमिनमा पछि गोश्वराले नयाँ पूर्जा दिएको थियो । २०५८ मा म्याद सकिएको गोश्वरका तत्कालिन प्राविधिक बुद्धन यादव र रामविलासो महताले भूमाफियासित मिलेर स्थानीयलाई नै पूर्जा दिएका थिए ।
आक्रमणपछि घरमा भेटिएका अध्यक्ष धामीले भने,‘ममाथि यो सहित तेस्रो पटक आक्रमण भएको छ, यस अघि दुई पटक भइ सकेको छ ।’
यस अघि उनीमाथि २०७० र त्यसको एक वर्षको लगातार दुई पटक आक्रमण भएको थियो । २०७० मा गाउँमै उनीमाथि आक्रमण भएको थियो । त्यसपछि २०७१ मा मालपोत कार्यालयमा आक्रमणको प्रयास गरिएको थियो ।
भूमाफिया गिरोहले स्थानीयको उठिबास लगाउन खोजेको भन्दै तत्कालिन नेकपा(एमाले) ले नयाँ वितरण गरिएका पूर्जा खारेजीको अभियान सञ्चालन गरेको थियो । एमालेले अध्यक्ष धामीलाई त्यसको जिम्मा दिएको थियो ।
‘त्यो बेला मलाई नै पार्टीको जिम्मेवारी दिएको थिए, मैल त्यो जिम्मेवारी अनुसार काम गरि रहे’ उनले भने,‘त्यो बीचमा आएका डर, धाक र धम्कीले मैले केही परवाह गरेन ।’
स्थानीयलाई बेदखल पार्ने भूमाफियाको योजना विफल पार्ने गरी आफू संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले सरकारी निर्णयको सबैले स्वागत गरिएको बताए ।
भूमाफिया गिरोहले अध्यक्ष धामीलाई जग्गा नापीको मुद्दा छाड्न यस अघि विभिन्न आश्वासन समेत दिएको बाहिर आएका छन् ।
तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षले विस्थापित परिवारका लागि सुन्दरपुर (बन्दरपुर) कटान एक हजार दुई ६० बिगाहामध्ये ४० बिगाहा बाहेक सबै वितरण गरिएको थियो ।
भूमाफिया गिरोहले त्यहीं बचेको ४० बिगाहा जग्गा कब्जा गर्न स्थानीको जग्गालाई समेत विवादमा पारि दिएका थिए ।
स्थानीको जग्गा समेत पारेर उनीहरुले तीन सय बढी जग्गाधनी पूर्जा बनाएर दिएका हुन् । केही स्थानीयले पूर्जा दिएर स्थानीयबाट दुई हजार पाँच सय रकम अशुल गरेको स्थानीय बताउँछन् ।