कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ ।
फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापी रुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा रोक लगाउनुपर्ने र सार्वजनिक यातायात बन्द गर्नुपर्ने काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मागलाई पनि सरकारले अस्वीकार गरेको छ ।
र, सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको छ ।
१. दुई सय बढी सक्रिय संक्रमित जिल्लाबाट अन्यत्र जान रोक
मन्त्रिपरिषद्को बैठकले सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र आवागमनमा रोक लगाएको छ । उपत्यकाको हकमा तीन जिल्लाबाहेक अन्यत्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमतिविना आवागमन गर्न पाइने छैन । अनुमति दिँदा पनि प्रयोजन खुलाई यात्रा गर्ने व्यक्तिको नामसमेत उल्लेख गरेर परिपत्र पत्र दिनुपर्नेछ ।
२. आधा कर्मचारी वर्क फ्रम होम
सरकारले काठमाडौं उपत्यका र २०० भन्दा बढी संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई वर्क फ्रम होम गर्न भनेको छ ।
निर्णयअनुसार सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ ।
यसका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न भनिएको छ । विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न नसक्ने र बढी जनसम्पर्क हुने कार्यालयको सेवा प्रवाह स्थगित गरिनेछ ।
३. लामो दुरीका यातायात र हवाई सेवा फेरि रोकिए
सरकारले अन्तरजिल्लाका निजी तथा सार्वजनिक यातायात भदौ १६ गतेबाट खोल्ने भएको छ । आन्तरिक तथा बाहृय हवाई सेवा पनि १६ बाटै खुल्नेछ । अनलाईन खबर बाट सभार