सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रोनाल्डो फेरि चर्चामा

रोम: लामो समयदेखि इटालियन सिरिए फुटबलमा एकाधिपत्य जमाउँदै आएको युभेन्ट्सले जारी सिजनको उपाधि पनि जित्ने सम्भावना प्रबल बनेको छ। ‘लिग लिडर’ युभेन्ट्सले मंगलबार बिहान सम्पन्न आफ्नो पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी लाजियोलाई २(१ गोलले हरायो ।

जितसँगै युभेन्ट्सले तालिकामा आफ्नो निकटतम प्रतिद्वन्द्वी इन्टर मिलानसँग आठ अंकको अग्रता लिएको छ। जारी सिजनको इटालियन सिरिएमा अब सबै टोलीले चार/चार खेल मात्र खेल्न बाँकी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युभेन्ट्सका लागि दुवै गोल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गरे।

पोर्चुगिज स्ट्राइकर रोनाल्डोले पाँच मिनेटको बीचमा दुवै गोल गरेका हुन्। निर्धारित समयको ५१औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका रोनाल्डोले ५४औं मिनेटमा अर्को गोल थपेका थिए। भ्रमणकारी टोली लाजियोका लागि भने एकमात्र गोल ८३औं मिनेटमा सिरो इमोबाइलले पेनाल्टीमार्फत गरेका थिए।

World Link Ads
Mahakali Polytechnic

उक्त खेल रोनाल्डोका लागि थप विशेष बन्न पुग्यो। उनी युरोपका तीन चर्चित घरेलु लिगमा ५०/५० गोल गर्ने विश्वकै पहिलो खेलाडी बने। उनले इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरिएमा ५०/५० गोल गरेका हुन्। युभेन्ट्समा आबद्ध हुनुअघि उनी स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्थे।

रोनाल्डोले लामो समय इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। उनले प्रिमियर लिगमा एक सय ९६ खेल खेल्दै ८४ गोल गरेका छन्। स्पेनिस ला लिगामा दुई सय ९२ खेल खेलेका रोनाल्डोले तीन सय ११ गोल गरेका छन्।

इटालियन सिरिएमा भने उनले हालसम्म ६१ खेल खेल्दै ५१ गोल गरिसकेका छन्। इटालियन सिरिएको एकै सिजनमा ३० गोल गर्ने रोनाल्डो युभेन्ट्सका तेस्रो खेलाडी हुन्।

Sana Kishan

रोनाल्डो इटालियन सिरिएमा सबैभन्दा कम खेल खेलेर ५० गोलको कोशेढुंगा पार गर्ने यो शताब्दीकै पहिलो खेलाडी पनि हुन्।

जारी सिजनको लिगमा भने रोनाल्डोले गरेको यो ३०औं गोल हो। ३५ वर्षीय रोनाल्डोसँगै सिरो इमोबाइलले पनि यो सिजनमा ३० गोल गरिसकेका छन्।

यो सिजनको सिरिएमा सर्वाधिक गोलकर्ता बने भने रोनाल्डो सन् २००७/०८ सिजनपछि ‘गोल्डेन बुट’ हात पार्ने युभेन्ट्सको पहिलो खेलाडी बन्नेछन्। सन् २००७/०८ सिजनमा युभेन्ट्सका एलेज्यान्ड्रो डेल पियरोले सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जितेका थिए।

युभेन्ट्स यो सिजनमा पनि सिरिए च्याम्पियन बन्दै लगातार नवौं उपाधि जित्ने अभियानमा छ। सन् २०११/१२ सिजनयता युभेन्ट्सले लगातार सिरिएको उपाधि जित्दै आएको छ।

अब खेल्न बाँकी चार खेलबाट केवल चार अंक जोड्न सक्यो भने युभेन्ट्सको उपाधि पक्का हुनेछ। युभेन्ट्सले हालसम्म सर्वाधिक ३५ पटक सिरिएको उपाधि जितिसकेको छ।

युभेन्ट्स च्याम्पियन बनेमा प्रशिक्षक माउरिजियो सारीका लागि पनि त्यो उनको जीवनको पहिलो लिग उपाधि हुनेछ। यसअघिका तीन खेलमा भने युभेन्ट्स जित हात पार्न असफल भएको थियो।

तालिकामा युभेन्ट्स ८० अंकसहित पहिलो र इन्टर मिलान ७२ अंकसहित दोस्रो स्थानमा छन्। ७१ अंकसहित एटलान्टा तेस्रो, ६९ अंकसहित लाजियो चौथो र ५८ अंकसहित एएस रोमा पाँचौं स्थानमा आसीन छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.