मोती खोज्न गएँ म सागर भने मोती टिपी ल्याउँला
लागे पर्वत खोज्न अमृत बुटी खोज्दै म त्यो पाउँला
बाबाबाट छुटे म बाल वयमा खोज्दै म जाऊँ कहाँ
यो संसार विदा भए अलपमा बाबा म पाऊँ कहाँ
लागे रोग गई चिकित्सक कहाँ सन्चो बनी आउँला
मेरो गेह अशान्ति भाकल छुटे झाक्री कहाँ धाउँला
जे खोजूँ सब चीज मिल्छ तर बा पाऊँ म धाऊँ कहाँ
याैटा शब्द सदैव दुर्लभ भयो बाबा म पाऊँ कहाँ
भोटोमा शिरपोस मुख हँसिलो ठाडो टिको चन्दन
कुर्ता ती सलवार वस्त्र सुकिला बिर्सिन्न कैल्यै मन
मेरा चाड तिहार पर्व दशमी टीका म लाऊँ कहाँ
न्याना आशिष ती पवित्र करले बाबा म पाऊँ कहाँ
चिन्ताले दिनरात भोक भुलियो कस्तो गर्याै हे हरि
बाचूँ खै कसरी म दुःख पिरले यो जिन्दगानी भरि
ज्यादै चोट पर्यो छिया छ मुटुमा चीत्कार गाऊँ कहाँ !
मेरो आँगन गेह रित्तिन गयो बाबा म पाऊँ कहाँ ?
अर्ती ज्ञान, विवेक वैभव गुरो बाबा थिए के गरूँ
मेरा हर्ष, खुसी र उत्सवहरू बाबा थिए के गरूँ
केही भोक हुँदैन काट्न दिन यी के चीज खाऊँ यहाँ
रित्तो भित्र छ बार्दली सब उसै बाबा म पाऊँ कहाँ छन्द : शार्दूलविक्रीडित
✍️प्रेम प्रकाश कलाैनी
शिवनाथ -२ पाैखर,बैतडी