सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरूको सुझाव

विज्ञहरूले लकडाउनको स्वरूप परिवर्तन गरी आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सहज तुल्याउन सरकारलाई सुझाव दिएका छन । प्रधानमन्त्री केपी ओलीले बुधबार बालुवाटारमा बोलाएको छलफलमा सहभागी आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना रोकथाम, नियन्त्रणसँगै लकडाउन सहज बनाउन सुझाब दिएका हुन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गर्नुभन्दा चरण–चरणमा सरकारले लकडाउन थपेकोमा असन्तुष्टि बढ्दै गएको वेला प्रधानमन्त्री ओलीले विज्ञहरूसँग संवाद गरेका हुन् । लकडाउनबीच दुई हजार तीन सय संक्रमित भेटिएको, आर्थिक–सामाजिक गतिविधि ठप्प भएको र लामो लकडाउनले समाजमा असन्तुष्टि बढ्दै गएको भन्दै विज्ञहरूले सरकारलाई अब अपनाउनुपर्ने थप रणनीतिबारे सुझाब दिएका थिए ।

प्रधानमन्त्री ओलीले विज्ञहरूसँगको छलफल सकारात्मक भएको र आगामी दिनमा पनि आवश्यकताअनुसार छलफल गर्ने बताएका छन् । ‘आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग परामर्श गरेँ । अर्थशास्त्री, योजनाविद्, जेन्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद्, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो । बैठकमा सहभागी विज्ञहरूले दिनुभएका सुझाबहरूप्रति धन्यवाद भन्न चाहन्छु । यस किसिमको बैठक आवश्यकताअनुसार फेरि पनि हुने जानकारी गराउन चाहन्छु,’ छलफलपछि प्रधानमन्त्री ओलीले ट्विट गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

छलफलमा पूर्वसचिव रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले कोभिड नियन्त्रणका लागि सरकारले लागू गर्दै आएको लकडाउनको मोडालिटी परिवर्तनमा केन्द्रित रहेर सुझाब दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न क्षेत्रका २५ विषयविज्ञको सहभागितामा सम्पन्न परामर्श बैठक उपलब्धिमूलक र फलदायी भएको सरकारी समाचार एजेन्सी राससलाई बताएका छन् ।

Sana Kishan

प्रधानमन्त्री ओलीसँग छलफल अगाडि कोभिड नियन्त्रण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले नेपाल चिकित्सक संघका पदाधिकारीहरूसँग लकडाउनको मोडालिटीमा केन्द्रित रहेर सिंहदरबारमा छलफल गरेको थियो । मन्त्रिपरिषद्मा लकडाउन खुकुलो बनाउने गरी मोडालिटीको प्रस्ताव तयार गर्नुअघि समितिले मंगलबारबाटै विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गर्दै आएको छ ।

बिहीबार एक चरणको छलफल सकिएपछि उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने गरी मस्यौदा पारित गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए ।

चिकित्सा संघका पदाधिकारीहरूले लकडाउनलाई सरलीकृत गर्दै बन्दाबन्दीमा पनि दैनिक जीवनयापन सहज हुने गरी तहगत हिसाबले क्रमशः खुकुलो बनाउन सुझाब दिएको बिडारीले बताए । कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन कायम रहँदा उद्योग, व्यवसायका साथै श्रमिक वर्ग प्रभावित भई मुलुकको आर्थिक गतिविधिमै असर परिरहेको छ । बिहीबार लकडाउनको ७३औँ दिन हो । सरकारले पछिल्लोपटक ३२ जेठसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपत् अवस्था’ अर्थात् स्वास्थ्य संकटकालको घोषणाको तयारी गरेको छ । संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपत् अवस्था’ आकर्षित हुने भएको हो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संकटकालबारे औपचारिक निर्णय लिनेछ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘संक्रमित बढेपछि मन्त्रालयले विपत् अवस्थाबारे छलफल गरेको छ ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.