सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना भाइरसको संक्रमणबाट जोगिन कञ्चनपुरमा पनि सचेतना अभियान

विश्वमा महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड –१९) को कारण नागरिकहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरका स्थानीय तहहरुले पनि सचेतना अभियान शुरु गरेका छन् । नोबल कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने सम्भावना बढेपछि कञ्चनपुरका अधिकांश स्थानीय तहहरुले बढी भिडभाड र जमघट हुने मेलामहोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न नगराउन सार्वजनिक रुपमा आग्रह गरेका छन् । बेलडाँडी गाउँपालिकाले शुक्रबार गर्ने भनेको सार्वजनिक सुनुवाई कार्यक्रम समेत स्थगित गरेको गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसंगको खुल्ला सिमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले बेलौरीको बैशाखा भन्सार नाकामा स्वास्थ्य परिक्षणका लागि बेलौरी नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने तयारी गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणी क्षेत्रबाट भारतमा आवतजावत गर्दा बैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न आग्रह गरिएको छ । यही फागुन २५ गते आइतबारका दिन बेलौरी नगरपालिकाले गर्ने भनिएको नारी दिवस विशेष कार्यक्रम र रानाथारु समुदायको होरी मिलन लगायतका सबै कार्यक्रम पनि स्थगित गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो ।

कोरोना भाईरसको संक्रमणबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिने भएकोले यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव राज सुनारले जानकारी दिनुभयो । यस रोगबाट बच्नका लागि साथीभाइहरुसंग हात नमिलाउने, साबुन पानीले राम्ररी हात धुने, मुखमा मास्क प्रयोग गर्ने, श्वासप्रश्वासका बिरामीको नजिक नजाने, जनावरको सम्पर्कबाट टाढा रहने, अण्डा तथा मासु लगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न अपिल गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा कोरोना जाँचका लागि भीमदत्त नगरपालिकाको हेल्थ डेस्क ।।

Sana Kishan

रनी विवश, कञ्चनपुर ।

भीमदत्त नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी ब्रह्मदेब र झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ब्रह्मदेब र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो । कारोना संक्रमण फैलिएपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा यस अघि नै स्वास्थ्य जाँच सुरु गरिएको छ । गड्डाचौकीस्थित हेल्प डेस्कले भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्दै आएको छ । गड्डाचौकीमा दुई वर्षदेखि हेल्थ डेस्क सञ्चालन हुँदै आएको छ ।

विपद् व्यवस्थापन समितिले गड्डाचौकी बाहेक ब्रह्मदेब र झोलुङ्गे पुल भएर पनि भारतबाट आउने भएकाले हेल्थ डेस्क राख्ने तयारी गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो । ‘कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या हो, त्यसबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक छन्’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि गड्डाचौकीमा स्वास्थ्य जाँच भई रहेको छ, त्यस बाहेक ब्रह्मदेब र झोलुङ्गे पुलबाट आउने व्यक्तिहरुका लागि पनि हेल्थ डेस्क राख्ने तयारी गरिएको छ ।’

नगर प्रमुख विष्टले शुक्रबार बिहान गड्डाचौकीस्थित हेल्थ डेस्कमा पुगेर स्वास्थ्य जाँचको अवस्थाबारे जानकारी लिनु भएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख नरेन्द्रराज जोशी लगायतका स्वास्थ्यकर्मीले नगर प्रमुख विष्टलाई जानकारी गराउनु भएको छ । नगर प्रमुख विष्टसंगै भीनपा ८ का अध्यक्ष ध्वज बहादुर विष्ट र भीनपा १८ का सदस्य प्रशान्त भट्ट सहभागी हुनु भएको छ । गड्डाचौकीस्थित हेल्थ डेस्कलाई स्वास्थ्य जाँचका लागि बिहीबार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले दुई थर्मामिटर दिएको छ । ती थर्मामिटरबाट स्वास्थ्य जाँच भई रहेको छ ।

भीमदत्त नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा जनप्रतिनिधि सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् । नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकमा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम प्रसाद जैसी लगायतका सहभागी हुनु भएको छ । यसैबीच भमिदत्त नगरपालिकाका नगर प्रमुख विष्टले विश्वव्यापी चुनौतीका रुपमा देखिएको कोरोना संक्रमबाट जोगिन पूर्व तयारी र सावधानी अपनाउन सबै नगर वासिन्दामा अपिल गर्नु भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.