बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको नाममा रहेको जग्गा अतिक्रमण गरी निजी घर निर्माण गरेको पाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४, शाहीलेकस्थित प्रहरीको कार्यालयको कित्ता नं. ३०६ र ९४७ को जग्गा अतिक्रमण गरी स्थानीय व्यापारीले घर टहरा बनाएको भेटिएको हो ।
प्रहरी कार्यालयको नाममा रहेको स्थानीय व्यापारी चेतराज पाण्डे र महेशदत्त भट्टले अतिक्रमण गरी निजी प्रयोजनका लागि घर निर्माण गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडी, नापी कार्यालय, दशरथचन्द नगरपालिका र जिल्ला प्रशासन कार्यालय बैतडीको संयुक्त सर्भे टोलीले जग्गाधनीकै रोहवरमा नापजाँच गर्दा उक्त जग्गा अतिक्रमण गरेको पाइएको हो ।
पाण्डेले आफ्नो पक्की घर निर्माण गर्दा १ मीटर र सोही घरसँग जोडिएको कच्ची टहरा निर्माण गर्दा ४ दशमलव ५ मीटर गरी साढे ५ मीटर जग्गा अतिक्रमण गरेको पाइएको संयुक्त टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै भट्टले पनि प्रहरीकै जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेको बताइएको छ ।
अतिक्रमण गरी बनाइएका संरचना हटाई जग्गा खाली गर्न दुवै व्यक्तिलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीले बताएकोे छ । प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी डिल्ली नारायण पाण्डेले नापजाँच गर्दा अतिक्रमण गरी घरटरहरा निर्माण गरेको भेटिएपछि जग्गा खाली गर्न पत्राचार गरिसकेको जानकारी दिए । यद्यपि, व्यापारीले भने अहिलेसम्म अतिक्रमित जग्गामा निर्माण गरेका घर टहरा हटाएका छैनन् ।
अतिक्रमित जग्गाबारे बुझ्दा व्यापारी भट्टले आफूले संरचना बनिसकेपछि मात्र घर किनेको बताए । ‘मैले निर्माण सम्पन्न भएको घर किनेको हुँ । घर किन्ने बेला प्रहरीको जग्गा अतिक्रमण भएको छ भन्ने थाहा पाइनँ,’ उनले भने, ‘अहिले सर्भे टोलीले जाँच गर्दामात्र थाहा भयो । अब प्रहरीको जग्गामा रहेको मेरो कच्ची टहरा हटाइदिन्छु ।’
उक्त जग्गा आफ्नो भनेर दाबी पनि नगर्ने उनको भनाइ छ । अर्का व्यापारी पाण्डेले भने आफ्नो कुनै पनि संरचना प्रहरीको जमीनमा नपर्ने दाबी गरे ।