सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको म्याद १ वर्ष थप

धनगढी । निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडक निर्माण अवधि १ वर्ष थप गरिएको छ । सम्झौता अनुसार उक्त सडक २०७६ को जेठसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि सम्झौता अवधि सकिएको ९ महीनापछि म्याद थप गरिएको हो ।

संघीय सरकारको रू. १ अर्ब ६८ करोड लागतमा निर्माण भइरहेको उक्त सडकको काम ३ खण्डमा विभाजन गरिएको छ । शर्मा/अमर/नागार्जुन जेभीले निर्माण गरिरहेको पहिलो खण्ड (मोहनापुल–बोराडाँडी)को म्याद २०७७ मंसिर ६ गतेसम्म थप गरिएको मोहनापुल अत्तरिया सडक योजना कार्यालय, धनगढीका योजना प्रमुख होमबहादुर एसीले जानकारी दिए । उनका अनुसार राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको दोस्रो र तेस्रो खण्ड (बोराडाडी–अत्तरिया)को म्याद २०७७ मंसिर १५ सम्मका लागि थप गरिएको छ ।

निर्माण कम्पनीको ढिलाइले गत जेठमा सम्पन्न हुनुपर्ने काम तोकिएको समयसम्ममा आधा मात्रै सकिएपछि म्याद थप गरिएको उनको भनाइ छ । चालू आर्थिक वर्षको माघसम्ममा सडको ७० प्रतिशत काम सम्पन्न भएको योजना कार्यालयले बताएको छ । कुल साढे १४ किलोमिटरको यो सडकखण्डको १० किमी ६ लेन र साढे ४ किमी ४ लेनको हुनेछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पुलको डीपीआर नै बनेन
उक्त सडकको आधा काम सकिए पनि सडकअन्तर्गत पर्ने ३ ओटा पुल निर्माणका लागि भने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै बन्न सकेको छैन । धनगढी उपमहानगरपालिकाको मोहनापुल तथा गोदावरी नगरपालिकाभित्र गेटास्थित मनहरा र गेटा खोलामा पुल निर्माण गरिने योजना छ । तर, डीपीआर नबन्दा पुल निर्माण अन्योलमा परेको योजना कार्यालयले बताएको छ ।

सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले पुल महाशाखामा परामर्शदाताले तयार पारेको डीपीआर पठाएको भए पनि उक्त प्रतिवेदन सुधारका लागि भन्दै फिर्ता पठाइएको पुल महाशाखाका डिभिजन इन्जिनीयर थानेश्वर खत्रीले बताए । पुल निर्माणका लागि डीपीआर तयार नहुँदा ठेक्का आह्वान प्रक्रियासमेत अगाडि नबढाइएको योजना प्रमुख एसीले बताए ।

सडक निर्माण सुस्त गतिमा हुँदा अत्तरिया–धनगढी यात्रा गर्ने यात्रुहरू हिउँदयाममा धूलाम्मे र वर्षा वर्षायाममा हिलाम्मे हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.