नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताउनु भएको छ । बिहीबार कञ्चनपुरको बेलौरीमा नेपाल टेलिकम दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरे अनुसार देशका सबै जिल्लामा एक वर्षमै नेपाल टेलिकमको फोर जी परियोजना सुचारु गरिसकेको बताउनु भयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनी जस्तै नेपाल टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले सेवाग्राहीलाई नेपाल टेलिकमका सेवाहरू सहुलियत दररेटमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको अन्तर्राष्ट्रिय भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
यसैबीच, सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएका मन्त्री बाँस्कोटाले बिहीबार बिहान कञ्चनपुरको बेल्डाँडी र पुनर्वासमा स्थानीय जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू संग औपचारिक भेटघाट गर्नुभएको छ । त्यसक्रममा उहाँले वर्ग दृष्टिकोणबाट कहिल्यै पनि पछि पर्न नहुने उल्लेख गर्नुभयो । जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी तत्त्वहरू आफैं परास्त हुने मन्त्री बाँस्कोटाले दाबी गर्नुभएको छ ।