काठमाडौं । देशभरका निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जानकारी दिइएको छ ।
निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जानकारी दिएको छ । स्थानीय सडकको १२८ पुल र रणनीतिक सडकको ४३ पुलमा समस्या देखिएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जानकारी दिएको छ ।
निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आइएको छ ।’
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ । हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ । ६० सडकको पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुलको निर्माण अघि बढेको छ । ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन ।
रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय ६४ ओटा पुल र रणनीतिक पुल तीन ओटाको डिजाइन सम्पन्न भइसकेको जानकारी दिइएको छ ।