काठमाडौँ — विगत ६ महिनामा उल्लेख्य प्रगति हुन नसकेपछि सरकारले गत जेठ १५ मा ल्याएको बजेटको आकार घटाउदै नयाँ लक्ष्य निर्धारण गरेको छ । अर्थमन्त्री युवराज अतिवडाले बुधबार बजेटको मध्यावधी समिक्षा गर्दै राजस्व संकलन, वैदेशिक सहायता तथा ऋण र खर्चको पूर्ववत लक्ष्य संशोधन सार्वजनिक गरेका छन् ।
‘चालु आर्थिक वर्षमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । जुन कूल विनियोजनको तुलनामा ९०.४ प्रतिशत मात्रै हो,’अर्थमन्त्री खतिवडाले भने ।
गत जेठमा ल्याइएको बजेटमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेपनि रजस्व संकलन र खर्च दुवै कम भएपनि बाँकी ६ महिनाका लागि १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखको नयाँ लक्ष्य निर्धारण गरिएको छ ।
सरकारले यस वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएकोमा अब ९.६ प्रतिशतले घटाउँदै नयाँ लक्ष्य निर्धारण गरेको हो । नयाँ लक्ष्य अनुसार चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ९ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
जुन रकम विनियोजन गरेमध्ये ९४.५ प्रतिशत मात्रै हो । ‘पूँजिगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ खर्च हुने अनुमान छ,’ अर्थमन्त्री खतिवडाले भने । राजस्व पनि पहिले निर्धारण गरे अनुसार संकलन नहुने भन्दै यो पनि घटाइएको छ । राजस्व संकलनको सुरु अनुमानको ९५.६ प्रतिशत मात्रै हुने जनाएको छ ।
नयाँ लक्ष्य अनुसार राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ जुटाउने जनाइएको छ । वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको छ । ‘पछिल्लो समय आयातको परिमाणमा सुधार हुँदै गएको, समष्टिगत आर्थिक परिसूचकहरु सन्तोषजनक रहेको, आर्थिक क्रियाकलापमा बढोत्तरी भएको, करको दायरा विस्तार हुदै गएको, भीसीटीएस कार्यान्वयन एंव राजस्व चुहावट नियन्त्रण हुँदै गएकाले आगामी ५ महिनामा समेत कर राजस्वको संशोधित अनुमान हासिल हुने अपेक्षा गरिएको छ,’ अर्थमन्त्री खतिवडाले भने ।
आर्थिक वृद्धि दर भने पहिलेकै लक्ष्य नजिक पुग्ने खतिवडाको दाबी छ । यस वर्षको बजेटले ८.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य निर्धारण गरेको छ ।-कान्तिपुर