राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले दुई सय ३२ जना कर्मचारी माग गर्दा करिब ४९ हजार आवेदन परेको छ । यो सरकारी सेवामा परेको उच्च दर हो । अन्य सुरक्षा निकायमा थोरै मात्र आवेदन पर्दा गुप्तचरमा भने अत्यधिक आकर्षण देखिएको छ ।
गत १८ पुसमा विभागले दुई सय ३२ जना सहायक सूचकको भर्नाको सूचना निकालेको हो । आइतबार आवेदनको म्याद सकिएकोमा दुई सय ११ गुणा धेरै आवेदन परेको हो । पहिलोपटक सहायक सूचक पदमा लोकसेवा आयोगमार्फत भर्ना सुरु गरिएको छ । यसअघि असइसरहको अनुसन्धान सहायक र इन्सपेक्टरसरहको अनुसन्धान अधिकृत पदमा मात्र आयोगमार्फत भर्ना लिने गरेको थियो ।
छड्के भर्ना बन्द
विभागले छड्के भर्नासमेत बन्द गरेको छ । गुप्तचरसम्बन्धी ऐनमा कुल भर्नामध्ये १० प्रतिशत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई सीधै भर्ना गर्न सक्ने प्रावधान राखिएको थियो । सम्बन्धित क्षेत्रबाट सूचना संकलनमा सहयोग पुग्ने उद्देश्यले यस्तो प्रावधान राखिएपछि नेताहरूले छड्के भर्नामा कार्यकर्ता राख्दै आएका थिए ।
यस्तो विकृतिले छड्के भर्नाको औचित्यमा प्रश्न उठ्दै आएको थियो । नयाँ संविधान जारी भएयता विभागले छड्के भर्ना गरेको छैन । लोकसेवा आयोगले सहमति नदिएपछि भर्ना नभएको हो ।