महेन्द्रनगर १५ कार्तिक ।
दार्चुला — मन लोभ्याउने थुप्रै गन्तव्य भए पनि प्रचार नहुँदा जिल्लामा बाह्य पर्यटकको आवागमन शून्यप्रायः बनेको छ । अपीनाम्पा संरक्षण क्षेत्रमा अनुसन्धानका लागि केही अनुसन्धानकर्ता पर्यटकका रूपमा आउनेबाहेक घुम्नकै लागि आउने विरलै हुन्छन् ।
८ वर्षअघि स्थापना भएको अपीनाम्पा संरक्षण क्षेत्रमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको प्रचार हुन सकेको छैन । धार्मिक, ऐतिहासिक र सांस्कृतिक हिसाबले दार्चुला निकै सम्पन्न छ । यहाँ अपी हिमाल, नाम्पा, व्यास, सुर्मासरोवरलगायत महत्त्वपूर्ण र मनमोहक ठाउँ रहे पनि पर्यटकको दृष्टिमा भने पर्न नसकेको पर्यटन व्यवसायी शोभानसिंह लोथ्याल बताउँछन् ।
‘यहाँको आकर्षणको केन्द्र अपी हिमाल भए पनि त्यसको बेस क्याम्पसम्म पुग्ने सहज मार्ग छैन,’ उनले भने, ‘गत वर्ष एक विदेशी पर्यटकको टोली आए पनि बाटो नहुँदा फर्किएको थियो ।’ अपी आरोहणका लागि विदेशी पर्यटक अहिलेसम्म आउन सकेका छैनन् । त्यसबाट पाठ सिकेर सरोकारवाला निकायले अपी बेस क्याम्पको पद मार्ग बनाउनु जरुरी छ ।
यहाँका प्राकृतिक सम्पदा आयस्रोतका माध्यमका रुपमा उपयोग गर्न नसकिएको उनले बताए । ‘प्रचार नहुनु र आवागमनमा कठिनाइ मुख्य समस्या हो,’ अपीहिमाल गाउँपालिकाका कल्यानसिंह बोहराले भने, ‘संरक्षण क्षेत्रभित्र विदेशी तथा आन्तरिक पर्यटक भित्र्याउन सुरुमा त प्रचारमै ध्यान दिनुर्पयो ।’ कापाचुली हिमाल, जेठबुहारी ऐतिहासिक स्थल पनि यहीं रहेको उनले बताए । पर्यटन क्षेत्रको विकास गर्न सके स्थानीयको जीवनस्तर माथि उठ्नसक्ने उनले बताए ।
दुहु गाउँपालिकाको प्रमुख धार्मिक स्थल एवं पर्यटन आकर्षणको केन्द्र सिद्धटोपी, पासादह ताल, गोदु तापोपानी, नौगाड गाउँपालिका १ नागुमा रहेको १२ जोतिर्लिंग मध्येको नागेश्वर मन्दिरको दर्शन गर्न सकिने स्थानीय प्रेमराज जोशी बताउँछन् ।
अपी हिमालको काखबाट सालीमोर हुँदै बझाङका साइपाल र सुर्मासरोवर पुगिन्छ । यसलाई पर्यटकीय पदमार्गका रुपमा विस्तार गरी छेत्ती घाजिरमा होमस्टे सञ्चालन गर्न सके आन्तरिक र बाह्य पर्यटकको मन जित्न सकिने जोशी बताउँछन् । यसबाट स्थानीय बासिन्दासँगै सरकारको आयमा पनि टेवा पुग्ने उनको भनाइ छ ।
अपी हिमाल गाउँपालिका ३, मल्ली मर्फुलमा पौराणिक हिन्दु धर्मसँग सम्बन्धित विभिन्न आकृतिका वस्तु र अनौठा दृश्यले सजिएको गुफा भेटिएको छ । यसको प्रचार गर्न सके जिल्लाभित्र तथा बाहिरका पर्यटकहरू आउने सम्भावना रहेको स्थानीय बासिन्दा बताउँछन ।