सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सधैँ धौलीगंगाको त्रासमा महाकाली तटका नेपाली बस्ती

दार्चुला — वर्षामा महाकाली नदीको भेल उत्कर्षमा हुन्छ । किनारको दार्चुला र आसपासका बस्तीलाई त्यो भेलको भन्दा बढी डर सीमावर्ती भारतको धौलीगंगा जलविद्युत् आयोजनाको जलाशयको हुन्छ ।

जलाशय दार्चुलामा महाकाली नदीबाट ७ किलोमिटर पर छ । २ सय ८० मेगावाटको आयोजनाको उक्त जलाशयको बाँध ५९ मिटर अग्लो छ । भण्डारण क्षमताभन्दा बढी पानी भएपछि निकास खोल्नै पर्छ । खोल्दा महाकाली तटीय क्षेत्रमा बाढी आउँछ ।

बाँधका ढोका खोल्दा भारतीयले सीमावर्ती नेपाली अधिकारीहरूसँग समन्वय गर्दैनन् । त्यसैले तटीय क्षेत्रका नेपाली बस्तीमा वर्षामा सधैं त्रास हुने गरेको हो । पाँच वर्षअघि बिना पूर्वसूचना बाँधको ढोका खोलिँदा ठूलो बाढी आएर नेपाली भूभागले जनधनको ठूलो क्षति ब्यहोर्नुपरेको थियो । त्यसको झझल्को सबै वर्षायाममा हुने गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

यसपटक जिल्ला प्रशासन कार्यालय र सञ्चारमाध्यमले महाकालीको बहाव बढ्न थालेपछि किनारमा बस्नेलाई सतर्कता अपनाउन सूचना सार्वजनिक गरेपछि स्थानीयमा चिन्ता बढेको हो ।

महाकाली नदी दार्चुला पारि भारततर्फ लागेपछि शारदा नदीका नामले चिनिन्छ । यसैमा भारतले विद्युत् उत्पादनका लागि धौलीगंगामा बाँध बनाएर जलाशय निर्माण गरेको हो । सीमा पारि भए पनि उक्त आयोजनाको प्रभाव क्षेत्र नेपालका तटीय इलाका हुन् । जलविद्युतो बाँध ५९ मिटर उचाइ र ३ सय १४ मिटर चौडाइको छ ।

बढी भएको पानी डिस्चार्ज गर्न बाँधका ढोका खोल्दा २०७० सालमा महाकाली नदीमा भीषण बाढी आएको थियो । त्यसले दार्चुलामा धेरै क्षति भएको थियो । बढी हुने धेरै पानी बाहिर पठाउन बाँधको ढोका एकैपटक खोल्दा प्रभावित हुने क्षेत्रमा नेपालतर्फ महाकाली तटीय क्षेत्रका बैतडी, डडेलधुरा र कञ्चनपुरसम्म पर्छन् । पानी बढी भएका बेला प्रायः बाँधका ढोका राति खोल्ने गरिएकाले बढी त्रास हुने तटीय क्षेत्रका बासिन्दा बताउँछन् ।

महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख मित्र बरालका अनुसार बिहान र बेलुका दुईपटक धौलीगंगा प्रोजेक्टले विद्युत् उत्पादन गर्छ । ‘एकैपटक २ सय ८० मेगावाट नै पावर जेनेरेटर गर्दा सामान्यतया १ सय ७ क्युमेक पानी डिस्चार्ज हुन्छ,’ उनले भने, ‘त्यति परिमाणमा पानी छोडदा महाकाली नदीको सतह कति बढ्छ, त्यसलाई नाप्ने यन्त्र र उपकरण हामीसँग छैन ।’

Sana Kishan

उनका अनुसार नेपालतर्फ दार्चुलाको महाकाली नगरपालिकामा पर्ने दत्तुमा महाकाली नदीको पानी मापन केन्द्र भए पनि त्यसले कति मात्रामा पानीको सतह बढेको जानकारी गराउँदैन । ‘खाली मिटरमा बढेको बताउँछ । दत्तुको मापन केन्द्रको गेजमा ५ मिटर पानीको सतह नाघे खतरामा पुगेको मानिन्छ,’ उनले भने, ‘मापन केन्द्रले महाकाली नदीमा पानीको डिस्चार्जको यकिन तथ्यांक दिँदैन । नदीको डिस्चार्ज नाप्ने व्यवस्था कञ्चनपुर र कोसी क्षेत्रमा रहेको शारदा ब्यारेजमा छ । त्यो पनि इन्डियाको नियन्त्रणमा छ ।’ शारदा ब्यारेजको डिस्चार्ज मापन व्यवस्थाले १४ हजार क्युमेक पानीको सतह नाघे जोखिमको अवस्था जनाउनेउनी बताउँछन् ।

‘हाम्रोतर्फ पानीको डिस्चार्ज नाप्ने यान्त्रिक व्यवस्था नहुँदा जलस्तर कति बढेको हो भन्ने थाहा पाउन गाह्रो छ,’ उनले भने, ‘खतराको स्तरबारे पूर्वजानकारी दिन नसक्दा नदीले गर्ने क्षतिबाट जोगाउन समस्या छ ।’ २०७० सालको बाढीकाबेला महाकाली नदीमा पानीको सतह १५ हजार क्युमेकभन्दा बढी पुगेको शारदा ब्यारेजलेजनाएको थियो ।

नेपालतर्फ महाकाली तटीय क्षेत्रमा पानीको डिस्चार्ज मापन स्टेसन छैन । दत्तु र डडेलधुराको परशुराम नगरपालिकामा पानी मापन केन्द्र भए पनि अत्याधुनिक प्रविधि नभएकाले तथ्यांक भरपर्दो हुँदैन । ‘दार्चुला सदरमुकामसम्म महाकाली नदीको डिस्चार्ज मापन आवश्यक छ,’ उनले भने, ‘डिस्चार्ज म्यानेजमेन्ट टेक्नोलोजी डीएचएमले आफ्नो टेक्नोलोजीमा राख्नुपर्ने हो, राख्न सकेको छैन ।’

भारततर्फ पुलघाट नजिक महाकालीमा पानी नाप्ने गेयर स्टेसनको ४ मिटरभन्दा बढी गए खतराको लेभलमा पुगेको जनाउँछ । यसबारे जानकारी लिन भारतीय क्षेत्रमा पुग्नुपर्छ । नेपाली अधिकारीले त्यहाँ पुगेर नदीको जानकारी लिन मिल्दैन ।

प्रमुख बरालका अनुसार भारतसँग समन्वय गरेर सदरमुकाममा महाकालीको डिस्चार्ज मापन केन्द्र राख्न सके दुवै देशका स्थानीयलाई बाढीको अवस्थाबारे पूर्वसूचना पाउन सहज हुन्छ । ‘हामीले भनेर भएन, यसका लागि दुवै देशको उच्चस्तरीय छलफल आवश्यक छ,’ उनले भने । धौलीगंगामा विद्युत् उत्पादन गर्न ३२ सय क्युमेक पानी खस्ने गर्छ । यसले सामान्य तवरमा बगिरहेको नदीमा २० प्रतिशत पानीको सतह बढाउने बरालले बताए ।

‘दुवै देशका जनतालाई गाह्रो पार्ने बाढी हो । जोगाउन सल्लाह नगर्दा हामीलाई जहिल्यै वर्षामा डर छ,’ महाकाली–१ श्रीबगडका स्थानीय दानबहादुर बमले भने, ‘ठूलो बाढीको त्रास कहिल्यै हटेन । महाकालीको भेल बढ्न थाल्यो कि चिन्ता हुन्छ ।’ भारतीय पक्षले बाँधको ढोका खोल्ने सूचना दिने गरेमात्रै पनि सतर्कता अपनाउन सजिलो हुने उनले बताए ।

वर्षामा पूर्वसतर्कता अपनाउन भन्ने सूचना दिए पनि कार्यान्वयन गर्दा समय तलमाथि गर्ने गरेको जिल्ला प्रशासनले जनाएको छ । असार १३ बाट बाँधको पानी छाड्ने सूचना नेपाली पक्षलाई दिए पनि दुई दिनअगावै ड्यामबाट पानी छोडिएको थियो ।

नियमित पावर जेनेरेट गर्दा सूचना नदिने र ड्याम सफा गर्नुपरे वा ठूलै पानी पर्ने सम्भावना बढे भारतीय पक्षले पत्राचार वा फोनबाट नै भए पनि २०७० सालयता सूचना दिने गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.