सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पशुपतिका मूर्ति नै गायब

242
Sana Kishan

कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन

काठमाडौं : ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र ! नौवटा चोक, नौवटा डबली, नौवटा धारा, नौवटा कुवा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटै जातीय सम्प्रदायको संयोजनबाट बन्यो पाशुपत क्षेत्र। गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो।

Arus

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवं पुरातात्त्विक महत्त्वका सम्पदा हराउन थालेका छन्। गोलाकार रूपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ। ‘पाशुपत क्षेत्रका नौ शक्तिपीठमध्येका महत्त्वपूर्ण दुई शक्तिपीठ कोटेश्वरी र झम्केश्वरीका मूर्ति हराइसकेका छन्’, पशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारीले अन्नपूर्णसँग भने, ‘हराएका अरू मूर्तिको त हिसाबकिताबै छैन। यो ऐतिहासिक सम्पदा बचाउने जिम्मा कसले लिने ? ’

Nepali Khaja

२०४४ सालमा स्थापित पशुपतिनाथ विकास कोषको अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री र संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। पाशुपत क्षेत्रका पुरातात्त्िवक सम्पदाको सुरक्षा गर्ने जिम्मा कोषको हो। तर, कोष गठन भएपछि झन् धेरै मूर्ति, सत्तलजस्ता सम्पदा हराउन थालेको भण्डारी बताउँछन्।

पाशुपत क्षेत्रका पुरातात्त्विक महत्त्वका मूर्ति कसरी हराउँछन् भन्ने एउटा उदाहरण हो, राजराजेश्वरी घाटमा अवस्थित बुद्ध मूर्ति। घाटको दक्षिणतर्फको उक्त मूर्ति मर्मतका लागि भन्दै कोषले ०६८ सालमा त्यहाँबाट निकाल्यो। तर, तीन वर्षसम्म त्यो मूर्ति फिर्ता नगरिएको भण्डारीको भनाइ छ।

पशुपतिका सांस्कृतिक सम्पदा विषयमा विद्यावारिधि गरेका कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार महास्नान घरको पूर्वपट्टिको शंकरनारायणको मूर्ति, रुद्रगाडेश्वरबाट राम र पर्शुरामको मूर्ति हराएको छ। उनले भने, ‘भष्मेश्वर घाटबाट उमामहेश्वरको मूर्ति हराएको छ भने आर्यघाट पारी पुलैछेउमा चारमुखे भूतेश्वरको शिवलिंग हराएको छ। पञ्चदेवको दक्षिणपूर्वी कुनामा रहेको शिवलिंग पनि हराएको छ।’

भारतीय मूलका अमेरिकी विद्वान् पिपालले ‘द आर्ट अफ नेपाल’ नामक किताबमा वनकालीबाट पनि भूतेश्वरको मूर्ति हराएको लेखेका छन्। लैनसिंह बाङ्देलले लेखेको ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा हराएका भनिएका यी दुई मूर्ति नहराएको उल्लेख छ। पुस्तकमा मृगस्थली जाँदा देखिने ब्रह्माको मूर्ति गोश्वारामा रहेको उल्लेख छ। टण्डनका अनुसार अर्को ब्रह्माको मूर्ति हरायो भने पनि बागमती नदी किनारामा फेला पारेर गौशाला प्रहरी वृत्तमा राखिएको करिब १५ वर्ष भयो।

यसैगरी नवाली टोलमा मायादेवीको मूर्ति हराएपछि फेला पारेर छाउनीस्थित संग्रहालयमा राखिएको टण्डनको भनाइ छ। उनका अनुसार कोषमा वसन्त चौधरी रहेका बेला शंकरनारायणको मूर्ति हराएपछि सुरक्षा गार्ड राख्न थालिएको हो। सम्पदाप्रेमीको चर्को दबाबपछि कोषले ०७० सालतिर मूर्ति झिकेको ठाउँमा त्यस्तै मूर्तिको प्रतिरूप राख्यो।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले ‘राष्ट्र, राष्ट्रियता र सर्वधर्म समभावका प्रतीक भगवान् श्रीपशुपतिनाथ’ कार्यपत्रमा यो मूर्तिको महत्त्वबारे प्रस्ट पारेका छन्। ‘पाशुपत क्षेत्रमा राजराजेश्वरी घाटको बुद्ध मूर्ति उल्लेखनीय छ। यो बुद्ध मूर्तिले नेपालका बुद्ध मूर्तिहरूको कलाशैलीको सीमारेखाको काम गर्दछ। इस्वी पाँचौं–छैटौं शताब्दीसम्मका बुद्ध मूर्तिहरू दुवै हात तलपट्टि झारेको अवस्थामा हुन्छन्’, गुरुङले लेखेका छन्, ‘यस्ता शैलीका बुद्ध मूर्तिमा पुतलीसडकको बुद्ध मूर्ति नेपालकै पहिलो हो। त्यसपछि राजराजेश्वरी घाटको बुद्ध मूर्तिको क्रम आउँछ।’

राजराजेश्वरी घाटको बुद्ध मूर्ति त एउटा उदाहरण मात्र हो। यस्ता कैयन् महत्त्वपूर्ण मूर्ति हराएपछि त्यसमा नक्कली मूर्ति पुनस्र्थापना गरिएका छन्। त्यस्तै एउटा मूर्ति हो, साक्षी गणेशको। मूल मन्दिरछेवैमा पश्चिमतर्फ रहेको यो मूर्ति हराएपछि कोषले योजस्तै देखिने अर्को त्यहाँ राखिदिएको कोषकै एक सदस्यले जानकारी दिए।

त्यतिमात्र होइन, जयवागेश्वरी मन्दिरको सुनधारामा ऐतिहासिक मायादेवी र लोकेश्वरीको मूर्ति हराएपछि नक्कली मूर्ति राखिएको संघका अध्यक्ष भण्डारीले जानकारी दिए। ‘पाशुपत क्षेत्रबाट पुराना मूर्ति हराएर नयाँ मूर्ति राखिएका उदाहरण कति छन्, किटान गर्न सकिँदैन’, उनी भन्छन्, ‘चोरी हुनबाट बचेका मूर्तिको सुरक्षा कोषले गर्नुपर्ने हो तर त्यतातिर कसैको ध्यान गएको छैन।’ आजसम्म पाशुपत क्षेत्रबाट हराएका मूर्तिको अभिलेखसमेत कोषमा छैन।

पशुपति मन्दिरछेवैमा पश्चिमतर्फ रहेको अर्को महत्त्वपूर्ण मूर्ति पनि गायब छ। छैटौं शताब्दीको भनिने शंकरनारायणको मूर्ति ०५८ सालपछि हराएको हो। आधा शिव र आधा नारायण भएको यो मूर्ति दुर्लभ मानिन्छ। तर अहिले यो मूर्ति राखिएको ठाउँमा झार पलाएको छ। त्यहाँ फोहर थुपार्ने स्थल बनेको छ।

Karnali Traders

यस्तै पछिल्लो समय जयवागेश्वरीबाट ऐतिहासिक सिंहनारायणको मूर्ति हराएको वैद्य समाजका उपाध्यक्ष मुकुन्दराज वैद्यले जानकारी दिए। ‘पशुपति क्षेत्र पुरातात्त्िवक महत्त्वको हो। त्यसैले यहाँबाट हराउने सबै कुरा बहुमूल्य हुन्छन्, मूर्तिको त कुरै नगरौं’, वैद्यले भने, ‘महत्त्वपूर्ण मूर्तिहरू कति हराए कति भनेर साध्य छैन।’ केही महत्त्वपूर्ण शिवलिंग हराए पनि त्यसको लेखाजोखा नभएको सरोकारवालाको भनाइ छ।

कोषसँग छैन रेकर्ड

पाशुपत क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण पशुपतिनाथ विकास कोषसँग छैन। हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन।

कोषसँग हराएका मूर्ति तथा अन्य सम्पत्ति विवरण पूर्ण विवरण नै नभएको कार्यालयका एक कर्मचारीले जानकारी दिए। कोषले बनाइरहेको बृहत् गुरुयोजनामा पाशुपत क्षेत्रका मूर्तअमूर्त सांस्कृतिक सम्पदाबारे तथ्यांक संकलन गर्ने काम भइरहे पनि कोषले विवरण दिन चाहेन। ‘मूर्तिहरू अहिलेदेखि हराउन थालेका होइनन्। मूर्तिबारे कोषसँगै सबै विवरण छैन’, ती कर्मचारीले भने, ‘हराएका मूर्तिबारे यतैका स्थानीयलाई बढी जानकारी हुन्छ, अहिलेसम्म हराएका सबै मूर्तिको विवरण कोषले तयार पारेको त मलाई थाहा छैन।’

पाशुपत क्षेत्रलाई चार थरीका सुरक्षाकर्मीले सुरक्षा दिन्छन्। सशस्त्र प्रहरीले बाहिरी सुरक्षा दिँदै आएको छ भने जनपद प्रहरी बाहिर र भित्र दुवै स्थलमा खटिएको छ। मन्दिरभित्रको सुरक्षाको जिम्मा पहरा गणले लिएको छ। कोषका पनि आफ्नै सुरक्षा गार्ड छन्। ‘यति कडा सुरक्षा घेराभित्र बाहिरी चोर पसेर कोर एरियाकै मूर्ति चोर्नु असम्भवजस्तै हो’, संघका अध्यक्ष भण्डारीले भने, ‘पशुपतिका मूर्ति चोर्ने चोर भित्रकै पनि हुन सक्छन्।’ कोषले यहाँको सम्पदा संरक्षण गर्नुको साटो विनाश गरिहरहेको समेत भण्डारी प्रस्ट पार्छन्।

‘गर्छु–गर्छु भन्ने तर नगर्ने कोष नेतृत्वमा आउनेको प्रवृत्ति हो’, उनी भन्छन्, ‘यहाँका मूर्ति मठमन्दिरबारे त कोषले रेकर्ड राख्न सकेको छैन, अरू के गर्छ ? ’

मूर्तिहरू लथालिंग


अगाडि टिनको छाप्रो, पछाडि पार्किङ। बीचमा खुम्चिएको छ पुरातात्त्विक महत्त्वको मूर्ति। तिलगंगाबाट आर्यघाट जाँदा भेटिने टहराको माझबाट एउटा सानो गल्ली भित्र छिर्छ। त्यही गल्लीबाट ५० मिटरअगाडि बेवारिसे अवस्थामा छ, ऐतिहासिक त्रिविक्रमको मूर्ति।

संस्कृतिविद् टण्डनका अनुसार लिच्छिविकालमा बनेको उक्त मूर्ति नेपालकै पहिलो शिलालेखसहितको मूर्ति हो। यो संरक्षण अभावमा फोहर फाल्ने ठाउँमा थन्किएको छ। मूर्तिको टाउकापट्टि सानो बाटो छ। कंक्रिट सानो घेराभित्र उक्त मूर्ति राखिएको छ।

मूर्तिको महत्त्व नबुझाइएका कारण खासै पूजा हँदैन। यति मात्र होइन, पुरानो मूर्तिमा सुरक्षाको बन्दोबस्ती छैन। कोषले समेत महत्त्व नदिएकाले स्थानीय पनि साक्षी मात्र छन्। मूर्तिको इतिहास र महत्त्वबारे उनीहरू अनभिज्ञ छन्। ‘कहिलेकाहीं बार र पर्व परेका बेला एकदुई भक्त पूजा गर्न आउँछन्। यो मूर्तिबारे हामीलाई केही थाहा छैन’, स्थानीय संगीता थापा भन्छिन्, ‘कहिलेकाहीं मूर्तिको माथिसम्म पनि पानी भरिएको हुन्छ, कति पुरानो मूर्ति हो भन्ने कुरा हामीलाई थाहै छैन।’

‘त्रिविक्रमको मूर्ति शिलालेख कुँदिएको नेपालको पहिलो मूर्ति हो यो तर यस मूर्तिको महत्त्व धेरैलाई थाहा छैन। त्यसैले यसको संरक्षण पनि हुन सकेको छैन’, टण्डन भन्छन्, ‘यस्ता पुरातात्त्िवक महत्त्वको मूर्तिलाई समयमै संरक्षण गर्न सकिएन भने चोरी हुन सक्छ। यस्तो बेवारिसे अवस्थामा फालिएकाले चोरलाई पनि यो मूर्ति महत्त्वपूर्ण हो जस्तो लागेको छैन।’

यस्तै लथालिंग परेको अर्को महत्त्वपूर्ण मूर्ति हो, विश्वरूपको। गुम्बज शैलीमा निर्माण गरिएको यो मूर्ति २० मिटर अग्लो छ। मगृस्थली आसपासमा अष्टधातुबाट बनेको यो मूर्तिमा झार पलाएको छ। भूकम्प गएदेखि जीर्ण बनेको मूर्ति संरक्षणमा कोषले ध्यान दिन सकेको छैन।

पाशुपत क्षेत्रको पूर्वीदक्षिण कुनामा रहेको ऐतिहासिक विश्वदीपको मूर्ति पनि कहाँ छ, कोषलाई पत्तो छैन। ‘मूर्तिमा लगाइएका गरगहना उहिल्यै चोरी भइसकेका छन्। पछिल्लो समय मूर्ति पनि कता छ थाहा छैन। मूर्तिको आकार ठूलो भएकाले चोरले त्यतिकै फालेर हिँडेको थियो’, संघका अध्यक्ष भण्डारीले भने, ‘मन्दिरभित्रबाट निकालिएको ब्रह्माको मूर्ति गौशाला प्रहरी वृत्तको आँगनमा छ।’

राजराजेश्वरी घाटबाट हराएको ऐतिहासिक बुद्ध मूर्ति । यो मूर्ति मर्मतका लागि भन्दै निकालिएको थियो । पछिल्लो समय यसको ठाउँमा हुबहु देखिने अर्को मूर्ति राखिएको छ। -अन्नपुर्ण पोष्टबाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.