

सुदूरपश्चिम प्रदेश सरकारले महामारी जन्य रोगको प्रकोप नियन्त्रणका लागि जिल्लागत रुपमा एक हजार र पाँच हजारका दरले बजेट विनीयोजन गरेको पाईएको छ। पूर्वाधार विकास तर्फका योजनामा १० हजार सम्म बजेट छुट्याएको सरकारले महामारी जन्य रोगको प्रकोप नियन्त्रणका लागि जिल्लागत रुपमा एक र पाँच हजारका दरले बजेट विनीयोजन गरेको भेटिएको हो।
प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा औलो रोगीहरुको केसमा आधारित सर्भिलेन्स र एकिकृत भेक्टर सर्भिलेन्स शिर्षकमा कञ्चनपुर, दार्चुला, डडेल्धुरा, अछाम, बझाङ लगायतका जिल्लाका लागि एक–एक हजारका दरले बजेट विनीयोजन गरिएको छ। यस्तै, कञ्चनपुरमा महामारी प्रकोप जन्य रोगको उपचार तथा असहायहरुलाई वितरण गरिने औषधीका लागि पाँच हजार बजेट विनीयोजन गरिएको छ।


प्रदेश सरकारको अगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिकाको एक सय २ नम्बर पेजमा बझाङमा औलो रोगिहरुको केसमा आधारित सर्भिलेन्स र एकिकृत भेक्टर सर्भिलेन्स शिर्षकमा एक–एक हजार बजेट छुट्याईएको छ। यसैगरी अन्य जिल्लाका लागि पनि एक–एक हजार बजेट छुट्याईएको छ। जुन बजेट निकै न्युन हो।

सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले औलो रोगको सर्भिलेन्समा एक हजार बजेट छुट्याएर केही पनि नहुने बताए। उनले एक व्यक्तिमा औलो रोगको संक्रमण फैलिएमा त्यसले अन्यमा पनि सार्ने भएकाले उक्त बजेट निकै न्युन भएको जनाए। डाक्टर अवस्थीले महामारी जन्य रोगको कुनै सीमा नहुने भएकाले पर्याप्त बजेट आवश्यक पर्ने बताए।
यता प्रदेश सरकारले भ्रष्टाचार र लुट मच्चाउने गरी बजेट ल्याइएको भन्दै रातो किताब नै जलाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि टिप्पणी गर्न समेत लाज भइसकेको बताएको छ। कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले महामारी जन्य रोगका लागि प्रदेश सरकारले एक हजार र पाँच हजारका दरले छुट्याएको बजेटमाथि टिप्पणी गर्नु लज्जा बोध भएको बताए। उनले सरकारले गैर जिम्मेवारी पन देखाएर आफ्नो हैसियत देखाएकाले उक्त विषयमा धेरै टिकाटिप्पणी नगर्ने बताए। उनले कांग्रेसले यसै कारण रातो किताब जलाएको समेत जनाए। from dinesh khabar
