सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तको पाँचौं नगर सभा: एक अर्ब २२ करोडको बजेट प्रस्तुत, २५ वर्षे गुरू याेजना बनाइदैँ

महेन्द्रनगर, असार- ७ ।
भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि एक अर्ब २२ करोड ८२ लाखको बजेट सहित प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको छ ।
आगामी वर्षका लागि प्रस्तुत बजेट चालु आ.व.को तुलनामा १२ करोड बढी हो । गत वर्ष चालु आ.व.का लागि एक अर्ब १० करोड विनियोजन गरिएको थियो । यसमा चालुतर्फ ८० करोड ३३ लाख र पूँजीगतमा ४२ करोड ४९ लाख विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट १३ करोड ३४ लाख राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर वासिन्दाको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।

Sana Kishan

‘यो नगरलाई समृद्ध, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उनले भने,‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।’
नगरको विकासका लागि २५ वर्षे दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समवेश गरिएको छ । चालु आ.व.मा दीघर्कालिन योजना बनाउने कार्य सुरु गरिएको छ ।
विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था र नागरिक समाजसित सहकार्य सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले आफ्नो नगर आफंै बनाऔ भन्ने नाराका साथ जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि प्रगतिशलि कर प्रणाली लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ ।
योजनाबद्ध महेन्द्रनगर सहरलाई थप व्यवस्थित गरी नमूना सहर बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रुपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।
आगामी वर्षको नीति कार्यक्रममा सोलार बत्ती जडान गरी उज्यालो नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
संघीय र प्रदेश सरकारको नीतिका आधारमा आर्थिक क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले आगामी वर्ष नगर क्षेत्रका एक सय युवालाई स्वरोजगार बनाउने भीमदत्त रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा युवाहरुको हात भीमदत्तको साथ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

आगामी वर्ष स्थानीय स्रोत र साधनमा आधारिकत उद्योग मार्फत कम्तीमा ६० जना महिला उद्यमी तयार गरिने लक्ष्य लिइएको छ । लैङ्गिक समानता र आर्थिक रुपमा सशक्त बनाउन उद्यमी तयार गरिने कार्यक्रम अघि सारिएको छ ।
नगरका सबै वडामा सार्वजनिक जमिनको पहिचान गरी बालबालिकाहरुका लागि एक वडा एक चिल्ड्रेन पार्क निर्माणलाई वडा कार्यालय मार्फत निरन्तरता दिइएको छ ।
कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरणका लागि सम्भाव्यता अध्ययन गरी फार्म सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित सहकार्य गरिने नीति लिएको छ । यसै गरी एक वडा एक उत्पादन कार्यक्रम, भीमदत्त पन्त कृषि पुरस्कारलाई निरन्तनरता, किसानलाई उपकरण, नयाँ प्रविधि जडान लगायतका कार्यमा सहयोग गरिने कार्यक्रम समावेश गरिएको छ ।
भीमदत्त नगरपालिकाका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, प्रवद्र्धन र सञ्चाजीकरण गरी पर्यटन गन्तव्यका रुपमा विकास गर्ने नीति लिइएको छ । महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन, भीम वाटिकाको स्तरोन्नति, भ्यू टावर निर्माण थालनी, साँस्कृतिक महोत्स, होमस्टे सञ्चालनमा सहकार्य दिने कार्यक्रमलाई निरन्तनरता दिईको छ । यसै गरी ब्रह्मदेब क्षेत्रका साँस्कृतिक सम्पदाको संरक्षणका लागि समेत कार्यक्रम सञ्चालन गरिनेछ ।
शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, महाकाली नदी झोलुङ्गे पुल, ब्रह्मदेब बजार क्षेत्र, झिलमिला ताल, साकेतधाम, भम्केनी धाम, प्राचिन सिद्धनाथ मन्दिर, विष्णुधाम , बाह्राकुण्डा, कालिताल लगायतका पर्यटकीय एवम् धार्मिक स्थलमा अतिथि गृह, विश्राम स्थल, पर्यटन मार्ग निर्माण र सञ्जालीकरण लगायतका कार्य समावेश गरिएका छन् ।
नगरपालिकाले कक्षा ९ देखि प्राविधिक र व्यवसायिक शिक्षाको विकास गर्ने नीति अबलम्बनन गर्दै निजी, सहकारी, गैर सरकारी, स्थानीय तह र विकास साझेदारसंगससित सहकार्य गरी प्राविधिक तथा व्यवसायिक शिक्षाका अवसरहरु विस्तार गरिने नीति लिइएको छ ।
नगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमका रुपमा योग पाठ्यक्रम लागू गरिने भएको छ । आगामी वर्षमा एक वडा एक नमूना विद्यालय बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर क्षेत्रका गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्तिका लागि भीमदत्त छात्रबृत्ति कोष स्थापना गरिने कार्यक्रम अघि सार्दैै आगामी वर्ष साक्षर नगर घोषणा गरिने लक्ष्य लिइएको छ ।
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने र विद्यालयका नयाँ भवनहरु प्रविधिमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी बनाउने नीति लिएको छ ।
महेन्द्रनगर गड्डाचौकी सडकलाई चार लेन बनाउने र महेन्द्रनगर बजार क्षेत्रमा फेरि सिसीटिभी क्यामेरा जडानका लागि प्रदेश सरकारसंग पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आगामी वर्ष स्वास्थ्य तथा पोषण अन्र्तगत सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिनका साथै नगर क्षेत्रमा सञ्चालित औषधि पसल, क्लिनिक र प्रयोगशालाको अनुगमन निरीक्षणमा कडाई गर्ने नीति बनाएको छ ।
नगरपालिकाले अति विपन्न र ज्येष्ठ नागरिकहरुको घरदैलो गएर नियमति एवम् निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । विपन्न परिवारका अशक्त ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
नगरपालिकाका सहकारी र विद्यालयलाई एक आपशमा गाभ्ने मर्जर नीति अघि सारेको छ । यसैगरी घरेलु तथा साना उद्योगलाई प्रोत्साहन, ठेला व्यवसायलाई व्यवस्थापन, फोहरको वर्गीकरण गरी निजी साझेदारी अन्र्तगत संकलन र व्यवस्थापन, खेल मैदान स्तरोन्नति, युवालाई क्लबमा आवद्ध गरी खेलाडी उत्पादन, किशोरीहरुलाई आत्म सुरक्षा तालिम लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
घाँडीघाँच क्षेत्रको धार्मिक पर्यटकीय मार्ग कालोपत्रे गर्नका लागि संघ र प्रदेश सरकारसंग पहल गरी कार्य अघि बढाइने भएको छ । नगर चक्रपथ निर्माण हुने गरी शुक्लाफाँटा पर्यटन मार्ग निर्माणलाई निरन्तरता दिइएको छ ।
सबै वडामा खोला, नालामा पुल पुलेस र कल्भर्ट निर्माण गर्ने लक्ष्य राख्दै नगरभित्रका सार्वजनिक स्थान र सडकहरुको नामाकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले आगामी वर्षदेखि नगर यातायात गुरु योजना लागू गर्ने भएको छ ।
यसैगरी सिँचाई, सहरी विकास, विद्युतीकरण, सञ्चार, वन तथा वातावरण, जैविक विविधता, सुशासन, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि लगायतलाई विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा सुरु नगर सभामा नगर उप प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । नगर उप प्रमुख चन्दले आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पनि नगर सभामा प्रस्तुत गरिएकी छन् ।
नगर सभालाई सुदूरपश्चिम प्रदेशका वन, वातावरण, उद्योग पर्यटन राज्यमन्त्री प्रकाश रावल र प्रदेश सभा सदस्य मान बहादुर सुनारले सम्बोधन गरे । उनीहरुले नगरको विकासका लागि प्रदेश सरकार सहकार्य र समन्वय गर्नेमा जोड दिए ।
सोमबार दिउँसो २ बजेसम्मका लागि नगर सभा स्थगित गरिएको छ । सोमबार
नीति कार्यक्रम बजेट तथा बजेट र दुबै विधेयकमाथि छलफल सुरु गरिने भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.