

भारतमा दुई जना सांसदले २३ वर्षपछि नेपाली भाषामा शपथ लिएका छन् । सांसद राजु विष्ट र इन्द्रहाङ सुब्बाले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिएका हुन् । तीन नेपालीभाषी सांसदमध्ये दुईले नेपाली भाषामा शपथ लिए ।
हालैको लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार विष्ट, सिक्किमबाट सिक्किम क्रान्तिकारी मोर्चाबाट सुब्बा र उत्तरखण्डमा भाजपाबाटै माला राज्यलक्ष्मी शाह सांसद बनेका हुन्। उत्तरखण्ड टिहरीकी नेपालीभाषी सांसद शाहले भने अंग्रेजी भाषामा शपथ लिइन्। सांसद विष्ट ढाकाटोपी र दौरासुरुवाल पहिरिएर संसद् पुगेका थिए। उनले संसदभित्रै ‘जय गोर्खा’ को नारासमेत लगाएका थिए।
२२ मार्च १९७१ मा दार्जिलिङका सांसद रतनलाल ब्राहृमणले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिने कोसिस गरेका थिए। तर उनलाई नेपाली भाषामा शपथ लिन दिइएन। यद्यपि २८ जुन १९७१ को दिन संसद्मा भएको यातायात मन्त्रालयको बजेटमाथि छलफलमा ब्राहृमणले नेपाली भाषामै आफ्नो धारणा राखेका थिए।
२० अगस्ट १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत नेपाली भाषालाई भारतीय भाषाका रूपमा भारत सरकारले मान्यता प्रदान गरेको हो। नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा परेको ४ वर्षपछि (सन् १९९६ मा) दार्जिलिङबाटै सांसद बनेका आरबी राईले पहिलोपल्ट नेपाली भाषामा शपथ ग्रहण गरेका थिए।
भारतीय संविधानमा सरकारी मान्यताप्राप्त भाषामा लोकसभा, राज्यसभा, विधानसभा, परिषद् पञ्चायत वा त्यस्तै सरकारी निकायमा नियुक्त हुने सदस्यले आआफ्नो भाषामा शपथ लिन पाउने प्रावधान छ।
कान्तिपुरबाट सभार…
