

मोटरसाइकल/स्कुटर चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्न सक्छन्। दुई कारणले, सुरक्षा जाँच वा सुरक्षा कक्षा।
महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर ‘सुरक्षा कक्षा’ दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म सात हजार दुर्घटना भए, दुई सय ११ जनाले ज्यान गुमाए। यसमा २ हजार ३ सयभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे परेका छन्। मृत्यु हुनेमा ४५ प्रतिशतभन्दा धेरै दुईपाङ्ग्रे सवार नै छन्।

यही सन्दर्भमा हामीले पूर्व ट्राफिक प्रहरी तथा हालै ‘ट्राफिक भोलेन्टियर’ नियुक्त सीताराम हाछेथूसँग दुईपाङ्ग्रे सवारीको सुरक्षाबारे कुराकानी गर्यौं।
उनले तथ्यांकबाट कुराकानी थाले।
तीस वर्षअघि देशभर ३४ हजार दुईपाङ्ग्रे थिए। आधाभन्दा बढी बागमतीमै कुद्थे। अहिले २५ लाख दुईपाङ्ग्रे छन्। तीमध्ये नौ लाख बागमतीमै छन्। यहाँ दुईपाङ्ग्रे र अरू गरी झन्डै एघार लाख सवारी चल्छन्।
काठमाडौं उपत्यकामा दिनहुँ एउटा न एउटा दुर्घटना हुने गरेको छ। अधिकांशमा दुईपाङ्ग्रे ठूला गाडीसँग ठोक्किएका छन्। टिपर-ट्यांकरसँग, कार, बस वा ट्रकसँग। कुनै बेला आपसमै।
महिनामा दस जनासम्मले दुर्घटनामा ज्यान गुमाएका छन्। सामान्य र गम्भीर घाइते त सयौं छन्।
भयावह बन्दै गएको दुर्घटनामा साठी प्रतिशत दुईपाङ्ग्रेकै लापरबाही देखिने हाछेथूको दाबी छ।
दुईपाङ्ग्रे त्यसै पनि जोखिमपूर्ण सवारी। चालक र यात्रुलाई चोटपटक लाग्ने र मृत्यु हुने सम्भावना अन्य सवारीको तुलनामा धेरै हुन्छ। यसमा चालकको लापरबाहीले जोखिम झन् बढाइदिन्छ।
दुई गाडीको बीचमा ‘क्रस’ गर्दै ओभरटेक गर्दा र घुम्ती वा मोडमा ओभरटेक गर्दा धेरै दुर्घटना भएका छन्। सिधा सडकमा पनि सोझै सवारीको अगाडि तेर्सिन जाने चलन छ। यसले पछाडिबाट ठक्कर खाने सम्भावना बढाउँछ।

‘ओभरटेक गर्दा अगाडि-पछाडि हेरेर सिधा लेनमा दायाँबाट मात्र गरिनुपर्छ। कम्तिमा पन्ध्र मिटर दूरी राखेर मात्र कुनै पनि सवारीको अगाडि पर्नुपर्छ, तर यसको पालना हुँदैन,’ उनले भने, ‘सिधै अगाडि तेर्सिंदा ज्यान जोखिममा पर्छ।’
तीव्र गतिमा चलाउने, गलत लेनमा स्वाट्ट घुस्ने, अरू सवारीसँग टाँसिन जाने, कुनाकाप्चामा छिर्ने पनि दुर्घटनाका कारण हुन्।
हाछेथूको अनुभवमा दुईपाङ्ग्रेहरू अक्सर सिधा गुड्दैनन्। घरि यता घरि उता, नागबेली। सडक लेनको मतलबै छैन। सानो कुना देख्यो कि घुसिहाल्यो। यही प्रवृत्तिले जोखिम बढाउने उनी बताउँछन्।
मादक पदार्थ सेवन गरेर हुँइक्याउनेहरू पनि दुर्घटना पीडित भएका छन्। ट्राफिक प्रहरीका आँखा छलेर तीन जना बस्ने, केटाकेटी भनेर पाँच जनासम्म अटाउने र ‘मालवाहक’ गाडीझैं गह्रौं सामान बोक्ने प्रवृत्तिले पनि दुईपाङ्ग्रे दुर्घटनामा परेका छन्।
पछिल्लो समय मोबाइल र इयरफोन दुर्घटनाका थप कारक बनेको हाछेथूको अनुभव छ।
‘सवारी हाँक्दा फोनमा बोल्ने, गीत सुनेर हिँड्ने प्रवृत्ति बढ्दो छ,’ उनले भने, ‘यसले सडकमा ध्यान हुँदैन, अरू गाडीको आवाज र पछाडिबाट हर्न बजाएको चाल पाइँदैन।’
दुर्घटना भनेको नियम उल्लंघन र लापरबाहीका साथै मानवीय त्रुटिको नतिजा हो। अरूलाई जोगाउन खोज्दा पनि दुर्घटना भएका उदाहरण छन्। तै गति कम गरी सडकमै ध्यान केन्द्रित गरेर चलाउने हो भने धेरै हदसम्म दुर्घटना कम हुने उनको भनाइ छ।
हामीकहाँ त्यसै पनि सडकको अवस्था गतिलो छैन। खाल्डाखुल्डीको भरमार छ। यो सरकारी निकायको कमजोरी भए पनि ज्यान जोगाउन आफैं चनाखो हुनुपर्ने उनी बताउँछन्।
चिप्लो र बलौटे बाटोमा झ्याप्प ब्रेक हान्दा वा मोड्दा धेरै दुर्घटना भएका छन्। खाल्डाबाट जोगिन दायाँबायाँ सुत्त घुमाउन नहुने हाछेथू सुझाउँछन्। बरू सानोतिनो खाल्डो देखे गति कम गरेर खाल्डोबाटै जानुपर्ने उनको भनाइ छ।
‘चालक र यात्रुले सडकको अवस्थामा ध्यान दिएको पाइँदैन। पछाडिको यात्रु त आफ्नै तालमा कहाँ हराइरहेको हुन्छ। जोगिन सकिने अवस्थामा पनि ऊ मानसिक रूपले तयार हुँदैन,’ उनले भने, ‘सवारी लड्दा झ्याम्म खुट्टा टेक्न सक्यो भने त बचियो नि!’
दुईपाङ्ग्रेको ‘मेसिनरी’ अर्को समस्या हो। काम नगर्ने लाइट, कमजोर ब्रेक, खिइएका वा हावा नभएका टायर र अरू समस्या भएका दुईपाङ्ग्रे नचलाउनु नै बेस।
