काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार रुपैँया बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । फागुन ७ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
रुरुले प्रभावित जिल्ला गुल्मीका लागि ४ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म खुल्ने कम्पनीले जनाएको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्।
यसैगरी, सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।
(arthatantra.com बाट साभार)