सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुर्गममा सेवा फैलाउँदै टेलिकम

२० जेठ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्‍याउन सफल भएको हो ।

कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ ।

रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।
ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

दुर्गम तथा विकट ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी मोबाइलको पहुँच पुर्‍याइएको हो । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.