निवर्तमान सभामुख महरालाई पुनः अदालत लगियो

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः अदालत लगिएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न यसअघि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालत लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए ।

गत असोज १९ मा पक्राउ परेका महरालाई अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद यसअघि दिएको थियो । दशैं बिदा सकिएपछि २८ असोजमा अदालत खुलेर उपस्थित गराइएका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।
त्यो म्याद १ कात्तिकमा सकिएको थियो। त्यस लगत्तै शनिबार परेकाले उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अहिले उनलाई नर्भिक अस्पतालबाट जिल्ला सरकारी वकिलको कार्यालय र्पुयाइएको छ । काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समय सकिए पनि महराको बयान भने अझै सुरु नै भएको छैन । महराले आफनो स्वास्थ्यको कारण देखाउदै आजसम्म बयान दिन मानेका छैनन् । प्रहरीले कुनै पनि मुद्दामा आरोपित व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउछ । उनले बयान नदिए पनि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन सक्नेछ । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनसहित अभियोग पत्र अदालतमा दायर गर्नसक्छ ।

गत १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो ।

सम्वन्धित समाचार
Comments
Loading...